दमाैली : नेकपा एमालेले तनहुँका ८५ वटै वडामा एकैदिन अधिवेशन गर्ने भएको छ । एमालेले जिल्लाका दश पालिकाका ८५ वटा वडामा शनिबार एकैदिन अधिवेशन गर्ने निर्णय गरेर तयारी थालेको हो ।
एमाले जिल्ला सचिवालयको बिहीबार सम्पन्न बैठकले सबै वडामा अधिवेशनको तयारी पूरा भएको हुँदा उक्त दिन जिल्लाका सबै वडामा अधिवेशन आयोजना गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिए । उनका अनुसार कात्तिक ९ गते दश वटै स्थानीय तहमा पनि अधिवेशन आयोजना गर्ने निर्णय भएको छ ।
सबै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय ऐतिहासिक र चुनौतीपूर्ण भएको भन्दै सिग्देलले सबै कार्यकर्तालाई अधिवेशनमा लाग्न आह्वान गरेको छ । जिल्लास्तरीय नेताहरुलाई पनि जिल्ला कार्यालयले अधिवेशनमा परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्लाभर ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भइसकेकाले शुक्रबारभित्रमा सबै सदस्यता नविकरण गरिसक्न र नविकरण भएका सदस्यहरुले मात्र अधिवेशनमा भाग लिन पाउने निर्णय भएको एमाले तनहुँका कार्यालय सचिव राजेश्वर ढकालले जानकारी दिए ।
अधिवेशनको निर्णय भएसँगै अहिले गाउँ–गाउँमा एमालेका कार्यकर्ताहरु अधिवेशनको तयारीमा जुटेका छन् । अधिवेशन स्थलको छनौटदेखि सङ्गठित सदस्यहरुलाई निमन्त्रणा गर्न भ्याई नभ्याई भएको नेताहरुले बताएका छन् । त्यस्तै केही सदस्यको सदस्यता नविकरण कार्य जारी नै रहेको हुँदा अधिवेशन अघि नै नविकरण गरिसक्न नेताहरु लागिपरेका छन् ।
अहिले जिल्लाभर ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भएको र नयाँ सदस्यहरु पनि उल्लेख्य मात्रामा थपिएको एमाले जिल्ला सचिव भगवती न्यौपानेले बताइन् । सदस्यता नविकरण उत्साहनजनक भइरहँदा त्यसले पार्टी फुटको कुनै असर नपर्ने सन्देश दिएको उनले बताइन् ।
यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण आगामी कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै साथ अधिवेशन गर्ने एमालेले निर्णय गरेको हो । मङ्सिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७ सय ५३ स्थानीय तहको अधिवेशन गर्ने एमालेले निर्णय गरेको छ ।