काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेकाे टिप्पणी गरेका छन् ।
शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको हालको केन्द्रीय कार्यसमितिले वैधानिकता गुमाइसकेको बताएका हुन् ।
पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने अवस्था रहेको तर त्यो समय पनि पूरा भइसकेको बताए ।
‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उनले भने ।
संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको तर कांग्रेसले त्यो अवधि पनि गुजारेको पौडेलले बताए । कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको उनले बताए ।
आफूले शनिबार मात्र निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गरेको भन्दै पौडेलले मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही हुनसक्ने जानकारी पाएको बताए । ‘मंसिरमा निर्वाचन प्रक्रिया अगाडि बढाउनुभएको छ, त्यो मितिसम्म प्रतीक्षा गर्छौं । त्यसपछि हामी ठूलो पार्टी सानो पार्टी भन्ने वाला छैनौं, कुनै छुट हुने छैन भन्नुभएको छ’ पौडेलले भने ।
उनले मंसिर १३ गतेसम्म नयाँ पदाधिकारी नचुनिए पार्टी आगामी चुनावबाट वञ्चित हुन सक्ने पनि बताए । ‘पार्टीलाई अवैध अवस्थामा राखेर टिकट बाँड्ने खेल गर्ने ? यस्तो सपना देख्ने ? यो प्रवृत्तिबाट नेपाललाई जोगाउनुपर्छ’ पौडेलले भने । सभापति शेरबहादुर देउवाका कारण पार्टीमा यो स्थिति आएको पौडेलले बताए ।