दुलेगाैडा : तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दूधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।
दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुदैँछ । आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेगरी सम्झौता भएको हो ।
९९ लाख २९ हजार ३ सय रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालनमा शहकारीका अध्यक्ष मुक्ति सिग्देलले जनाए । उनका अनुसार सहकारीले १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ लगानी गर्नेछ । राष्ट्रिय शहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सिग्देलले जनाए । गुणस्तरिय दुध, दही, घ्युँ, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्च पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र विमामा परियोजनाको सहयोग रहने जनाईएको छ ।
‘राष्ट्रको समृद्धिका लागि हरकोही उत्पादनमा अनिवार्य जोडिनुपर्छ । किसानले गरेको उत्पादनलाई गुणस्तरीय र ब्राण्ड बनाएर बजारीकरणमा सघाउन यो परियोजना सञ्चालन गर्दैछौ,’ उनले भने । सहकारीले पशुपालनका निम्ति विनाधितोमा कर्जा लगानी गर्दै आईरहेको सिग्देल बताउँछन् । सहकारीको सहकार्यमा गाउँ–गाउँमा गाईभैँसी फर्महरु सञ्चालनमा भईरहेका छन् ।
सहकारीले शुक्लागण्डकी नगरक्षेत्रका किसानले उत्पादन गरेको १२ सय लिटर दुध दैनिक बजारमा पु¥याईरहेको छ । प्रशोधन बिना रबरले दुधको पोका बाँधेर बजारमा पठाईरहेको शहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए । ‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी निती अनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ । प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकारी हुन्छ,’ उनले भने ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले गुणस्तरीय दुध उत्पादन गरी किसानलाई आत्मानिर्भर बनाउन परियोजनाले सघाउने बताए । उनका अनुसार कार्यस्थलमा काम सम्पन्न भएपछि मात्रै आयोजनाले दिने अनुदानको भुक्तानी हुनेछ ।
परियोजनामार्फत दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नलाई शनिबार शहकारीले सार्वजनिक सुनवाई समेत गरेको छ । सो अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरपालिकाले कृषी, पर्यटन र पुर्वाधारलाई प्राथमिकता दिएर लगानी गरेको बताए । कृषी र पशुमा गरिएको लगानी वास्तविक किसान समक्ष पुग्न सक्यो की सकेन गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको भनाई छ । ‘साना किसानको उत्पादनलाई बजारीकरण गर्न सक्छौँ भनेर हामी लागेका छौ,’ उनले भने ।
शुक्लागण्डकी–१२ का वडाध्यक्ष मनराज गुरुङले सम्बृद्धी प्राप्तीका लागि कृषि र पशुपालनलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस शुक्लागण्डकीका नगर सभापति गोपिबहादुर गुरुङ, नेकपा एमाले तनहुँ जिल्ला कमिटि सदस्य देवलाल खनाल, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त ज्वारचन, सहकारीकी सहसचिव सरस्वती सिग्देल लगायतले बोल्दै दुग्ध उत्पादन कृषकका लागी यो आयोजनाले सघाउन पु¥याउने बताए ।
शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौँडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । २०७४ मा स्थापित शहकारीमा दुई हजार चार सय ७५ जान शेयर सदस्य छन् । शहकारीले खैरेनीटार बजारमा पनि सेवा कार्यालय सञ्चालन गर्ने तयारीमा छ ।