कहिले होला मानुङकोटमा घरघरै पानीको धारा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कहिले होला मानुङकोटमा घरघरै पानीको धारा ?

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०७८, सोमबार

    दुलेगौडा : गाउँ भन्दा माथिपट्टी अर्को कुनै डाँडो छैन् । पूर्वतर्फ फर्केर हेर्दा धेरै तल सेती नदी र मादी नदी अविरल बगिरहन्छ । सेती र मादीको पानी हेरेर मात्रै तिर्खा नमेटिने ! तिर्खा मेटाउनेलाई गाउँमा पानीको मुहान छैन् । हिउँद बर्खा जहिल्यै पानीको दुख ।

    तनहुँको व्यास नगरपालिका–५ मानुङकोटवासी पानी खोज्दै काकाकुल झै भौतारिन्थे । आधा रात नभनिकन पानी खोज्दै रित्तो गाग्री बोकेर ओरोली झर्नुपर्ने बाध्यता । ‘रातको १ बजे राँको बाल्दै पानी लिनलाई डोकोमा ग्रागी बोकेर झर्नुपर्ने । धरादी, अलैँचे, चिसापानी जहाँ पुगेर भएपनि पानी ल्याउनुपर्ने थियो । दुई खेप पानी ल्याउदा उज्यालो भईहाल्थ्यो,’ ६४ बर्षीया रेवती आले सम्झन्छिन् ।

    मगर बस्तीमा ७० घर थियो । सबै घरपरिवारको पिरलो खानेपानीको जोहो कसरी गर्ने भन्ने नै हुन्थ्यो । अधेरीमा पधेरी नझरी दिन नढल्ने । रेवतीका अनुसार बर्खामा आकाशे पानी संकलन गर्नलाई अहिले जस्तो जस्ताले छाएको छानो थिएन् । अधिकांश घुमाउने घर खरले छाएका थिए ।

    वर्षेनी जनसंख्या बढ्दै थियो, झनझन् गाउँमा पानीको हाहाकार मच्चिन थाल्यो । त्यसपछि गाउँलेले विकल्पको बाटो खोज्दै धमाधम बसाई झर्न थाले मानहुँकोटको बेसीँ गिज्यानचौर, स्वोरा, पाटन, दमौली आसपासमा । ‘ओहो पानी बिना त माछा बाँच्न त सक्दैन्नी । अब त हामी पनि सक्दैनौँ भनेर सबै बेसीतिर झरे’, रेवतीले सुनाईन् ।

    गुल्जार गाउँ रित्तिदै गयो । ७० घरबाट घटेर १३, ११, नौँ, हुदैँ पाँच घरमा सिमित भयो गाउँ । पढ्ने केटाकेटी कोही नभएपछि गाउँको विद्यालय पनि खारेज भएर ओरोलो झेरछ । रेवती भन्छिन्, ‘जहाँ गएनी एकथोक त दुख हुन्छ नै भनेर हामी गाउँमा बसिरह्यौँ । तल गएनी घाँसको दुख हुन्थ्यो । घाँस काट्नलाई यहीँ आउनुपर्ने, दाउँरा काट्न यहीँ । एक थोकको त जसै दुख काट्न पर्छ, यहीँ बस्छौ भनेर बसे । एक्लै भएपनि बस्छु भन्ने मनमा थियो । तर, अरु चार घरले पनि गाउँ छाडेनन् ।’

    गाउँले बेसी झेरपछि कोदो मकै फल्ने बारीमा पाती र वनमाराहरु फुल्न थाले । खेतीपाती हुने गह्रामा शिरु र बाँवियो झ्यांगिए । गाउँका कति घर भत्किए, कति घर एक्लिए त्यसको लेखाजोखा नै छैन् । सदरमुकाम दमौली बजारको पश्चिम शिरको डाँडो मानहुँकोट दमौलीको झिलिमलि उज्यालो, सडकमा ट्याटु गर्दै हुईकिएका सवारी, सेती र मादी नदीमा बगिरहेको पानी हेर्दै टुलुटुलु बसिरह्यो ।

    दमौलीबाट गाउँमा गाडी चढ्ला बिजुली बल्ला सायद कसैले सोचे होलान । विस्तारै दमौलीको विकास मास्तिर आउन थाल्यो । सडक मानहुँकोटमा उक्लियो, बस्तीमा उज्यालो पुग्यो । तैपनि बेसी झरेकाहरु थातथलोमा उक्लिएनन् । किनभने गाउँमा सबथोक उक्लिए पनि पानी उक्लिएको थिएन् । बरु दमौलीतिरका कहिलेकाहीँ मानुङकोट डाँडोमा घुम्न उक्लन्थे । सधैँ शिरानमा देख्ने डाँडोमा उक्लेर रमाउदैँ भन्थे, ‘ओहो स्वर्ग जस्तै पो रहेछ !’

    एक दुई जना घुम्नलाई उक्लने झर्ने भईरह्यो । मानुङकोटमा सडक उक्लिएसँगै पर्यटनमा सम्भावना देख्नेहरुले धेरथोरै पर्यटनका गतिविधि भए । पछिल्लो पाँच वर्षमा विस्तारै मानुङकोट उक्लने आन्तरिक पर्यटक बढीरहे ।

    गत बर्ष असोजपछि कसैले नसोचेको भयो । उत्पात पर्यटक मानुङकोट उक्लिए । सुनसान डाँडोमा स्थानीयले पत्याउनै नसक्नेगरी घुम्न आउनेको ताँती लाग्यो । एकै दिन १० हजारसम्मको ताँती, कसैले नसोचेको भईदियो । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम सामाजिक सञ्जाल जताततै मानहुँकोटको दृश्य पोस्टियो । दमौली बजारलाई ड्याम्म कुहिरोले घुम्टो ओडाएर सुर्य उदाएको मस्तको दृश्यले धेरैलाई हुटहुटी जगायो दमौली छाडेर एकपटक मानहुँकोट उक्लने । मौसम छर्लङ्ग खुल्दा आँखै अगाडी देखिने माछापुच्छ«े, धौलागिरी लगायत हिमालका चुचुराले मोहनी लगायो ।

    पृथ्वी राजमार्गबाट आठ किलोमिटर माथिको मानुङकोट डाँडामा देश विदेशका घुमन्तेहरु मात्र उक्लिएनन्, हिजो खानेपानी जोहो गर्दा हैरानी खेपेर बेसी झेरका मानहुँबासी पनि फेरी उक्लिए व्यापार गर्नलाई । भत्किन आँटेका घरलाई टालटुल पारे । पाती फुलेको जग्गालाई सम्याएर घर टहरा बनाई व्यापार थालेका छन् ।

    तिनै मध्येकी हुन् बसन्ती थापा । २०५२ सालमा बसाई झरेकी उनी गत बर्ष गाउँ फर्केर होटल चलाएकी छिन् । उनले दमौलीमा फ्रेस हाउस चलाउन छाडेर गाउँ उक्लेको बताईन् । ‘दमौलीमा भाँडा धेरै तिर्नुपथ्र्यो । यहाँ आफ्नै गाउँ, आफ्नै जग्गा । भाँडा पनि नलाग्ने । आफ्नै घरमा व्यापार चल्ने भएपछि किन बजार बस्ने भनेर आयौँ’, उनले भनिन् । गाउँमा सम्भावना भएकाले फिरेको उनको भनाई छ । ‘अहिले गाउँमै बाटो छ । जे चाहियो गाडीले ल्याईदिन्छ । पानी पनि ल्याईदिन्छ पैसा तिरेपछि । त्यै भएर हामी आयौँ । आफ्नै ठाउँमा, आफ्नै गाउँमा’ बसन्तीले व्यापार हुन थालेको बेलिविस्तार सुनाउँदै भनिन् । उनका अनुसार बेँसी झरेकाहरुको आमा समुहले अहिले गाउँमा विद्यार्थी विहिन भएको विद्यालयमा होमस्टे चलाएका छन् ।

    पाटन झरेका तिलबहादुर थापाको परियार पनि गाउँ फर्किएको छ । गएको पुषमा गाउँमा होटल चल्ने सम्भावना देखेर ६ जनाको परिवार गाउँ उक्लिएको उनले बताए । ‘पुरानो घर भत्किसकेको थियो । टिनको टहरा बनाएर होटल चलाएका छौँ । व्यापार राम्रै छ । सिजन सुरु हुदैछ, अझै बढ्छ होला’, उनले भने ।

    बसन्ती र तिलबहादुरसँगै बसाई झरेका नौ घर पर्यटकसँगै गाउँ उक्लिएका छन् । पुरानो थातथलो नभएकाहरु पनि होटल चलाउनलाई डाँडामा उक्लिएका छन् । होटल रेष्टुरेण्ट खुल्ने क्रम बढ्दो छ । पर्यटक उक्लिए, खानेपानीको अभावमा बसाई झरेकाहरु पनि उक्लिए । तर, डाँडोमा अझै खानेपानी उक्लन सकेको छैन् । बरु बजारको प्रशोधित जार र ट्यांकरको पानी भने मोटर बाटोसँगै उक्लिएको छ ।

    बर्खायाममा घरको छानो र विद्यालयको छानोमा आकाशे पानी संकलन गरेर प्रयोग गर्ने गरेको मधुमाया थापाले बताईन् । हिउँदमा बजारको जार र ट्यांकरको पानी किन्ने उनले जानकारी दिईन् । दमौलीबाट ल्याईएको एक जार पानीको मुल्य ८० रुपैयाँ, ट्यांकरको एक हजार ६ सय रुपैयाँ तिर्नुपर्छ । ‘अझै पनि खानेपानीको समस्या उस्तै छ । ट्यांकरको पानी फोन गरेर मगाउने हो’, उनले भनिन् । मधुमायाका अनुसार ट्यांकरको पानी पर्यटक आएको बेला तीन चार दिनलाई मात्रै पुग्छ । गाउँको पहिलो आवश्यकता खानेपानी रहेको उनले बताईन् । बर्षौँ पहिले खानेपानी ल्याउनलाई नापजाँच भएपनि पुरा नभएको उनको भनाई छ ।

    निर्वाचनको बेला मात्रै खानेपानीको कुरा हुने रेवती आले बताउँछिन् । ‘रामचन्द्र पौडेलको पालामै सर्भे गरेर गा’को हो, छैन पानी !’, उनले भनिन् । सोलारबाट पानी तान्ने कुरा भएको तर पुरा नभएको उनको भनाई छ । गाउँमा पानी आए बेसीँ झरेका अझै धेरै उक्लने उनको अनुमान छ ।