काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको बताएका छन् । उनले आफू स्वभाविक उम्मेदवार भएको बताएका हुन् ।
तर, उनले अहिलेसम्म सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । उनको समूहले छलफलबाट एक उम्मेदवार घोषणा गर्ने बताएको छ ।
सभापतिमा पौडेलले दाबी गरे पनि उनको पक्षका शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायतले पनि सभापतिमा दाबी गरेका छन् ।
१३ औं महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार भएकाले यसपटक पनि आफू सभापतिमा उठ्ने अब पौडेलले बताएका हुन् । बाँकेमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले यसपटक टिममा छलफल गरेपछि निर्णय हुने भन्दै आफू सभापतिमा उम्मेदवारी दिन तयार रहेको बताएका हुन् ।
‘छलफलबाट एक जना मात्र उम्मेदवार हुन्छ,’ उनले भने, ‘पार्टी अब संवैधानिक संकटमा परिसकेको छ, पार्टीको महाधिवेशन समयमा नै सक्न मैले सभापतिलाई ध्यानाकर्षण पनि गराएको छु ।’