दुलेगाैडा : हिमाल छर्लङ्ग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरी पहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणीय देखिन्छ । यो समयमा प्रकृतिसँग रम्ने उदेश्यले पदयात्रामा आन्तरिक पर्यटकको पदचाप लम्किरहेका छन् ।
पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशमा लामो तथा छोटा दुरीको पदमार्ग प्रशस्तै छन् । धेरै जसो पदमार्ग हिमाली सेरोफेरोमा छन् । विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग, अन्नपुर्ण सेरोफेरो, मनास्लु क्षेत्रको पदमार्ग हिमाली भेगमा छन् । यी लगायतका हिमाललाई फेरो मार्ने अधिकांश पदमार्गमा यतिबेला पदयात्री उक्लिरहेका छन् । कोरोना प्रभावले दुई बर्षपछि पदयात्री धमाधम उक्लदा पदमार्ग क्षेत्रमा चहलपहल निकै बढेको छ । तर पोखराबाट नजिकको दुरीमा पर्ने हिमाल हेर्दै पहाडी भुगोलमा पदयात्रा गर्न सकिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) भने सुनसान छ ।
पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा दुई जिल्लालाई जोडेको ७२ किलोमिटर दुरी रहेको मध्य पहाडी क्षेत्रमा पर्ने यो पदमार्ग विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण दुई वर्षदेखि सुनसान बनेको हो । हिमाल हेर्दै पहाडको उकालो चढ्दै फेरी ओराली झर्दै ग्रामीण परिवेशमा रमाउन चाहनेका लागि उपयुक्त सहस्राब्दी पदमार्ग पर्यटकको प्रतिक्षामा छ ।
पदमार्ग अन्तर्गत तनहुँ र स्याङजाका विभिन्न १७ गाउँमा सञ्चालन गरिएका होमस्टे पनि शुन्यप्राय छन् । होमस्टे सञ्चालक पाहुनाको प्रतिक्षमा बसिरहेका छन् । फुलका गुच्छा र गाउँलेको न्यानो मायाले अतिथी सत्कार गर्न आतुर छन् उनीहरु । दुई वर्षदेखि पदयात्रामा पर्यटक नआउँदा होमस्टे सुनसान रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ मा सञ्चालित घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताईन् । ‘पहिला पदयात्रामा पाहुना आईरहन्थे । दुई बर्षयता ठप्पै छ । होमस्टे पनि शुनसान छ’, उनले भनिन् । आर्थिकस्तर उकास्न होमस्टे सञ्चालन गरेपनि पाहुना नहुदाँ आम्दानीको स्रोत बन्द भएको गुरुङले बताईन् ।
सहस्राब्दी पदमार्गले नै पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । ‘कोरोनाले सबैतिर प्रभाव पा¥यो । पछिल्लो समय अन्य गन्तव्यमा चहलपहल बढेपनि मध्यपहाडी क्षेत्रमा भएकाले सहस्राब्दी पदमार्गमा अझै चहलपहल बढ्न सकेको छैन् । लामो समय सुनसान रहेको पदमार्गमा पर्यटक भित्र्याउन हामी प्रचासप्रसारको तयारीमा छौँ’, उनले भने । गुरुङका अनुसार पदयात्री विहिन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जंगल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ । व्यवस्थापन समितिले १० औँ बर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्नेगरी अध्यावधिकको काम थालेको उनले बताए । सन् २००० देखि पदमार्ग सञ्चालनमा आएको हो ।
६ रात ७ दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ । तनहुँमा पृथ्वी राजमार्ग (गाछेपानी) बाट सुरु भएको पदमार्ग स्याङजाको सिद्धार्थ राजमार्ग ‐रामबाच्छा) पुगेर टुंगिन्छ । पदमार्गको सुरुवात विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ । सेती नदीको पानीको वहावले कुँदेर बनाएको ढुंगे बगैँचा हुदैँ पदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् । त्यसपछि उकालो चढेर रजस्थल होमस्टे हुदैँ ऐतिहासिक ढोर मुलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राईपुरको जन्तेढुंगा तनहुँ खण्डका गन्तव्य हुन् । स्याङजातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीय स्थललाई पदमार्गले जोडेको छ ।
हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सुर्योदय र सुर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाईने चरा काँडे भ्याकुर, चराचुरुङ्गी, जंगली जनावार र ग्रामिण परिवेश सहस्राब्दी पदमार्ग ‐मिलेनियम ट्रेक) मा पर्यटक लोभ्याउने आधार हुन् । पदमार्गमा अधिकांश मगर र गुरुङ समुदायको वस्ती छ । कहीँकतै ब्राह्मण, क्षेत्री र भुजेल वस्ती भेटिन्छ । यहाँका वस्तीमा पदयात्री ‐पाहुना)लाई स्वागत गर्न कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालन लगायतका मौलिक लोक सँस्कृति गुञ्जन्छ । पाहुनालाई होमस्टेले अर्गानिक खान्की खुवाएर फेरी आउन निम्तो बाँड्छ ।
गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचौ दिन डाँडागाउँ, छैठौँ दिन सुन्तलाबारी होमस्टमा बास हुन्छ । पदमार्गले तनहुँ र स्याङजाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र साँस्कृतिक पक्षलाई समेटेको छ ।
संघियता कार्यन्वयनसँगै हाल तनहुँको शुक्लागण्डकी नगरपालिकासँगै स्याङजाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकामा परेको छ पदमार्ग । तर कुनै पनि स्थानीय सरकारले पदमार्गलाई अपनत्व महशुस नगरेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारले पर्यटनलाई बुझे जस्तो लाग्दैन् । पर्यटनलाई पहिलो प्राथमिकता भन्छन् । कार्यक्रम गर्दैनन् । हामीले गुरुयोजना बनाएर दिएपनि कार्यन्वयनमा चासो भएन ।’ पदमार्गमा लगानी गरे त्यहाँबाट आउने रोयल्टी स्थानीय सरकारको आम्दानीको स्रोत बन्ने उनले जनाए ।
पदमार्गमा पर्ने बस्तीहरु रित्तिन थालेपछि होमस्टे चलाउन मुस्किल देखेर मिलेनियम ट्रेक व्यवस्थापन समितिले तीन बर्ष अगाडी चार स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । तनहुँको मगरनास सहित स्याङजाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिएपनि काम अगाडी बढेको छैन् । गुरुयोजना तयार गरेपनि काम अगाडी बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।