दुलेगौँडा : युवाहरु मिलेर तीन बर्ष अगाडी दुलेगौँडामा स्थापना गरेको तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्थाले एक करोड बढी निक्षेप संकलन गरेको छ । स्थापनायता सहकारीले एक करोड २५ लाख ३३ हजार ५ सय ५३ रुपैयाँ निक्षेप संकलन गरेको शनिबार सम्पन्न तेस्रो साधारण सभामा अध्यक्ष युवराज भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्षसम्म सहकारीले एक करोड १० लाख ६३ हजार ४ सय ६ रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
दुई करोड ५२ लाख ८२ हजार ३ सय १९ रुपैयाँ कर्जा लगानी भएको भट्टराईले बताए । गत आर्थिक वर्षमा सहकारीले २० लाख ३५ हजार ९ सय ९९ सय रुपैयाँ आम्दानी गर्न सफल भएको छ । ७० जना युवा मिलेर स्थापना गरिएको सहकारीमा शेयर सदस्य १९३ जना पुगेका छन् । शेयर पुँजी एक करोड ९६ लाख २६ हजार ४ सय रुपैयाँ छ । सहकारीले शेयर सदस्य थप गरेर पुजीँ वृद्धी गर्ने योजना रहेको अध्यक्ष भट्टराईले उल्लेख गरे ।
तेस्रो साधारणसभालाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका आर्थिक विकास तथा योजना शाखा प्रमुख नवराज पण्डितले पछिल्लो समय सहकारी संस्थाहरुलाई वित्तीय अनुशासन कायम राख्न चुनौति देखिएको बताए । उनले शेयर सदस्यले बोनसमा मात्र नभएर योगदान र दायित्वको सन्दर्भमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । पण्डितका अनुसार शुक्लागण्डकीमा हाल ४८ सहकारी सञ्चालनमा छन् । कानुनले तोकेभन्दा बढी सहकारी भएकाले अब मर्जरमा जानुपर्ने स्थिती रहेको उनले बताए । उनले भने, ‘कमजोर सहकारी बलिया सहकारीसँग मर्जरमा जानुपर्ने हुन्छ । मर्ज हुने सहकारीलाई नगरपालिकाले छुट र सहुलियत दिने नीति लिएको छ ।’
सहकारी सञ्चालक समितिका सदस्य सन्तोष घिमिरेले शहकारीको मर्म नबुझिकन मुनाफाका लागी मात्र शेयर सदस्य बन्नु गलत भएको बताए । ‘सहकारी सहकार्य हो । तर प्रतिष्पर्धाको विगविगी छ । कस्ले कति बोनस दियो भनेर चर्चा हुन्छ । सहकारीको मर्म अनुसार भएन्’, उनले भने ।
सहकारीका अध्यक्ष युवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवकुमार विक, सचिव कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ, शेयर सदस्य बाबुराम सिग्देल लगायतले बोलेका थिए ।
सो अवसरमा सहकारीले उत्कृष्ट कारोबार गर्ने र कर्मचारीलाई सम्मान गरेको थियो । उत्कृष्ट कारोबार गर्नेतर्फ जीवन थापा र पुष्प राई सम्मानित भए । अस्मिता कुवँर उत्कृष्ट कर्मचारीबाट सम्मान भईन् ।