युवाले बनाए गाउँलाई उज्यालो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    युवाले बनाए गाउँलाई उज्यालो

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७८, शुक्रबार

    दुलेगाैडा : तनहुँमा युवाहरु मिलेर तिहारको बेला गाउँलाई उज्यालो पारेका छन् । भिमाद नगरपालिका–८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउलाई उज्यालो पारेका हुन् ।

    अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको अध्यक्ष नरविर आलेले बताए । २० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए । आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ । ‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरिएको हो । सुनवाई भएको छैन् ।’  बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए ।

    सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले साँस्कृतिक, सांगीतिक लगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ ।

    अरौदीमा ७७ घरधुरी छ । झिलिमिली बत्तीको पर्व तिहारमा सडक बत्तीले गाउँघर उज्यालो भएपछि स्थानीय दंग बनेका छन् । सडक बत्तीको अत्यन्तै आवश्यकता भएकोमा क्लबले राखिदिएपछि सहज भएको स्थानीय प्रेमनारायण खनालले बताए । ‘रातीमा हिँडडुल गर्नलाई सुरक्षा हिसाबले पनि उज्यालो आवश्यक थियो । बस्ती नजिकै वनजंगल छ । उज्यालो भएपछि जंगली जनवारले आक्रमण गर्ने डर कम हुने भयो’,उनले सुनाए ।

    पाँच बर्ष अगाडी क्लबले ४० वटा सडक बत्ती जडान गरेको थियो । मर्मत सम्भार नहुदाँ सबै बिग्रिउ । यसपाली जडान गरेको बत्तीलाई मर्मत सम्भार गरेर उज्यालो अभियानलाई निरन्तरता दिने जनाईएको छ ।  अजम्बरी युवा क्लबले ‘अरौदीको पहिचान, उज्यालो अभियान’ नारा तय गरेको छ । यही नारालाई सार्थक बनाउन सडक बत्ती जडान गरिएको हो । वडा कार्यालयले चालु बर्षको बजेटमा अरौदीमा सडक बत्ती र सिसिटिभी क्यामेरा जडान गर्न एक लाख रुपैयाँ क्लबलाई छुट्याईदिएको छ । क्लबले तिहार लगत्तै सिसिटिभी क्यामेरा जडान गर्ने अध्यक्ष आलेले बताए ।