कांग्रेस १४ औं महाधिवेशन आजबाट सुरु हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस १४ औं महाधिवेशन आजबाट सुरु हुँदै

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७८, शुक्रबार

    काठमाडौं । वि.सं.२०७५ साल फागुनमा विधान संसोधन गरेर संघीय संरचनामा ढलेको सत्तारुढ दल नेपाली कांग्रेसले आजबाट केन्द्रीय महाधिवेशन गर्दैछ । पार्टीले १४ औं महाधिवेशन अन्तर्गत १८ साउन वडा अधिवेशन सुरु गरेको थियो । सोही क्रममा आजबाट काठमाडौंको भृकुटिमण्डपमा कांग्रेसले १४ औं महाधिवेशनको उद्घाटन गर्न लागेको हो ।
     
    महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वाप्रकाश शर्माले जानकारी दिए । ‘उत्साहा एकता रुपान्तरण, सफल बनाउ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मुल नाराका साथ महाधिवेशन सुरु हुँदैछ । 
     
    महाधिवेशन सम्पन्न भएपश्चात् कांग्रेस पार्टी संघीय संरचनामा ढल्किने छ । यो महाधिवशेनबाट पार्टीको १६९ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमा पदाधीकारी सम्पूर्ण पद प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ ।
     
    पार्टीको १३ औं महाधिवेशनको तुलनामा पार्टी पदाधीकारीको संख्या बढाइएको छ । यसअघि पार्टीमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन हुने प्रावधान थियो । उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्रीको मनोनय गर्ने अधिकार पार्टी सभापतिलाई थियो । तर, यो महाधिवेशनबाट सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री पदमा प्रत्यक्ष निर्वाचन लड्नुपर्ने हुन्छ ।
     
    महाधिवेशनमा देशभरबाट चार हजार ३९५ महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

    सम्पूर्ण समितिहरुको तयारी सकियो
    महाधिवेशन तयारीका लागि पार्टीले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति बनाएको छ । यही समिति मातहत रहेर विभिन्न उपसमिति बनेको छ । जसमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनेको छ । समितिले महाधिवेशनको सम्पूर्ण खर्चको व्यवस्थापन गर्नेछ । 

    यस्तै, आवास तथा भोजन समितिको संयोजन नेता सुरेन्द्र पाण्डेले गरेका छन् । पाण्डेका अनुसार देशभरबाट आउने महाधिवेशन प्रतिनिधिका लागि बस्नका लागि काठमाडौंमा ८६ वटाभन्दा बढी होटल वुकिङ गरिएको छ । यस्तै प्रतिनिधिहरुई विहान वेलुकै मासु भात खुवाउने समितिको तयारी छ । अधिवेशनका लागि मञ्च निर्माण गर्ने काम सम्पन्न भइसकेको छ । 

    यस्तै स्वास्थ्य समितिले महाधिवेशन स्थलमै निःशुल्क एन्टिजेन्ट टेस्ट र कोरोना विरुद्धको खोप लगाउने भएको छ । समिति संयोजक मोहनबहादुर बस्नेतका अनुसार महाधिवेशनस्थलमा पाँचवटा अत्याधुनिक स्यानिटाइजर मेसिन राखिनेछ । जसले समय–समयमा महाधिवेशनस्थल स्यानिटाइज गर्नेछ ।

    विभिन्न अस्पतालसँग पनि सहकार्य गरेर स्वास्थयमा समस्या आए समाधान गर्ने गरी समितिले काम गरिरहेको छ । नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्यकर्मी संघहरूले सेवा गर्ने गरी समितिले तयारी गरेको छ । समितिले उपचारका लागि वीर अस्पताललाई फोकल अस्पतालको रूपमा राखेको छ । समितिले साढे तीन लाख बढी मास्क वितरण हुने जनाएको छ । यस्तै, फेससिल्ड, स्यानिटाइजरलगायत आवश्यक सामग्री पनि वितरण हुनेछ । महाधिवेशनस्थलमा रक्तदान कार्यक्रम पनि समितिले गर्नेछ ।

    यता, महाधिवेशनको उद्घाटन सत्रमा भाग लिन भारतबाट सत्तारुढ भाजपा तथा कांग्रेस आइका २÷२ जना प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । कोभिडका कारण निम्ता गरिएका अधिंकास पाहुनाहरु नआएको विदेशी पाहुना सत्कार समितिका संयोजक डा. प्रकाशशरण महतले जानकारी दिए ।
     
    यस्तो छ निर्वाचन कार्यतालिका
    पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे प्रकाशन गर्ने निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
     
    निर्वाचन कार्यतालिका अनुसार २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । यस्तै सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनय दर्ता उपर दाबी विरोध र जाँचबुझ गर्ने निर्वाचन तालिका रहेको छ ।
     
    निर्वाचन समितिले २५ गते बेलुकी ७ देखि ९ बजेको समयलाई दाबी विरोध उपर निर्णय गर्ने समय छुट्टाएको छ । सोही दिन ९ देखि १२ बजेभित्र उमेदवारको पहिलो नामावली प्रकाशन हुनेछ । 

    उमेदवारहरुले मनोनय फिर्ता लिनु परे २६ गते बिहान ११ बजेसम्मको समय निर्धारण समितिले गरेको छ । सोही दिन मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । 
    कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।