तनहुँसुर ‘इको ट्रेक’ मा सिढी निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुर ‘इको ट्रेक’ मा सिढी निर्माण

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७८, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुर इको ट्रेकमा सिढी निर्माण गरिएको छ । पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सहजताका लागि उक्त ट्रेकमा सिढी निर्माण गरिएको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिढी निर्माणको काम थालिएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए। वडाका बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने उद्देश्य सहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन् । “सात जना महिला र तीन जना पुरुषले सिढी निर्माणमा रोजगारी पाएका छन्,” उनले भने ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिढी निर्माणका लागि यो वर्ष रु पाँच लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट तीन सय २० मिटर सिढी निर्माण गरिनेछ । गत वर्ष रु ६ लाख बजेटमा तीन सय मिटर सिढी निर्माण भइसकेको छ ।

    जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित गत वर्षमात्रै तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको थियो । “सिढी निर्माणसँगै पदयात्रा गर्नेलाई सहज रुपमा तनहुँसुरसम्म पुग्न सजिलो हुन्छ,” वडाध्यक्ष खड्काले भने।

    वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको थियो । मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुन्द्र सतहबाट पाँच सय मिटरको उचाईबाट शुरु हुने र एक हजार दुई सय ५० मिटरको उचाईमा समाप्त हुनेछ ।

    पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी चौतारा, बायस सिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।

    पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमि मोटरयात्रा त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुरसम्म गढीसम्म पदयात्रा गर्न सकिनेछ । ट्रेक स्थापनाका लागि विगत केही वर्षदेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षारोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्गानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धन लगायतका विषयमा प्रशिक्षण दिइँदै आएको थियो ।

    धेरै लामो र उकालो नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्ने पर्यटनविज्ञ हरिसिंह गुरुङले बताए । “हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिक स्थलहरु, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट हुनेछ,” उनले भने ।

    उक्त रुटमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायतका धार्मिक सम्पदाहरुलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गी लगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पु¥याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको बताइएको छ ।