निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८२, शुक्रबार

    काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गरेका छन् । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताए ।

    राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरे ।

    उनले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भई समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे । राष्ट्रपति पौडेलले भने, “यो संविधानले नेपाली जनतालाई सर्वभौमसत्ता र स्वतन्त्रता दिएको छ । सबै जात, धर्म र सम्प्रदाय सम्बद्ध जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ । हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।”