स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७८, शनिबार

    दुलेगाैडा । तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक संक्रमण बढिरहेको बेला विशेषत स्वास्थ्यकर्मी र कर्मचारी बढी संक्रमित भईरहेको छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना भुसको आगो झै फैलिरहेको आँकलन सहजै गरिन्छ ।

    भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य चौकीमा कार्यरत १९ जनामध्ये दुई जनालाई मात्रै कोरोना देखिएन् । तीन डाक्टर सहित अधिकांशलाई कोरोना पुष्टी भएपछि शनिबारसम्मका लागि स्वास्थ्य चौकीको सेवा बन्द गरेको बरिष्ठ ल्याब अस्सिटेन्ट रुपक बुढा मगरले बताए । स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकिबाट एन्टिजेन परिक्षण नियमित भईरहेको छ । यस्तै सुत्केरी सेवा पनि नियमति प्रदान गरिएको छ । ‘शनिबारसम्मलाई सेवा बन्द गरेका छौँ । पहिलो चरणमा कोरोना पुष्टी भएकाहरुको फेरी परिक्षण गर्दा नेगेटिभ आएमा सेवा सुचारु हुन्छ । नभए केही दिन बन्द नै रहन्छ होला’, उनले भने ।

    उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टी भएको छ । यसपाली संक्रमण पुष्टी भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने, घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । जटिल प्रकृतिको समस्या भने अहिलेसम्म देखिएको छैन् ।

    शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई पनि कोरोना पुष्टी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखी अर्को निर्णय नहुदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘अत्यावश्यक सेवा प्रवाहका लागि उपलब्ध कर्मचारीबाट आलोपालो प्रणाली लागु गरिएको छ’, उनले भने ।

    शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा रहेको खैरेनीटार हेल्थपोष्टमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी संक्रमित भईरहेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाई भएको उनले बताए । ‘स्वास्थ्य चौकी र नगरपालिकामा सेवा लिनलाई संक्रमित पनि आए । जनस्वास्थ्यको मापदण्ड पालना भएन् । त्यसैले कर्मचारी र स्वास्थ्यकर्मीमा संक्रमण स¥यो’, उनले भने ।

    यतिबेला समुदायस्तरमै भुसको आगो झै भित्रभित्रै कोरोना फैलिरहेको उनको अनुमान छ । ‘अझै पनि स्वास्थ्यको मापदण्ड फिटिक्कै पालना भएको छैन् । बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ । स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी हैन् कोरोना रोकथाम गर्ने, अब सबै पक्ष एक जुट नहुने हो भने कोरोना नियन्त्रणमा लिनलाइ मुस्किल हुन्छ’, उनले भने । समुदायस्तरमा त सामान्य रुघाखोकी ठानेर अझै परिक्षणको दायरामा नआएको उनको भनाई छ ।

    जिल्लाको आँबुखैरेनी गाउँपालिकाका १४ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टी भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बुधबारदेखी ९ माघसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । ‘समुदायस्तरमा परिक्षणको दायरा बढाउने हो भने अधिक संक्रमित भेटिन्छन्’, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । प्रयोगशालाकै कर्मचारी संक्रमित भएपछि परिक्षणको दायरा बढाउन नसकेको उनको भनाई छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ती अनुसार तनहुँमा ४२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टी भएको छ । शुक्रबार तनहुँमा मात्र ६९ जनालाई कोरोना पुष्टी भएको छ । ११६ जनाको कोरोना परिक्षण गरिएको थियो । हाल जिल्लामा ३३१ जना सक्रिय संक्रमित छन् । बैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टी भएको छ । पाँच हजार २५१ निको भए । वैशाखयता मात्रै १३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।