चार महिनामै पुनः बन्द भयो ढोरवाराही मन्दिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चार महिनामै पुनः बन्द भयो ढोरवाराही मन्दिर

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७८, शनिबार

    दुलेगाैडा । तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिर भक्तजनका लागि पुनः बन्द भएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि मन्दिर व्यवस्थापन समितिले शुक्रबारदेखि भक्तजनका लागि मन्दिर बन्द गरेको हो ।

    शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित मन्दिर कोरोना सङ्क्रमण न्यून हुँदै गएपछि गत भदौ अन्तिम साता दर्शनार्थीको पूजाआजाका लागि खुल्ला गरिएको थियो । त्यसअगाडी पनि मन्दिर करिब चार महिना बन्द रहेको थियो ।

    नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिएपछि नित्य पूजाआजा मात्र गर्नु भनी प्रशासनको आदेश भएकाले भक्तजनको पूजाआजाका लागि मन्दिर बन्द गरिएको पुजारी चिरञ्जीवि लम्सालले बताए । “अर्को सूचना नभएसम्मका लागि भक्तजनलाई पूजाआजा गर्न रोक लगाइएको छ, नित्य पूजा मात्रा सञ्चालन गर्छौ,” उनले भने ।

    मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्

    जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रुपमा लिईन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

    हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । मन्दिरका पुजारी लम्सालका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिटमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।

    उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

    मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको छ । यसैको आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित भएको बताइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।