दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो ।
आज र भोलि दुई सय कुकुरको बन्ध्याकरण गरिने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । बन्ध्याकरण शिविरको पहिलो दिन ८५ कुकुरको बन्ध्याकरण गरिएको र रेबिज विरुद्धको खोप दिइएको डा. श्रेष्ठले बताए ।
उहाँका अनुसार व्यास नगरपालिका–१, २, ३, ४, ५ र व्यास नगरपालिका–७ कलेस्तीसम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइनेछ । “कुकुर नियन्त्रणका लागि भ्यानको प्रयोग गरेका छौ, नियन्त्रणमा लिइएका कुकुरलाई अस्पतालमा ल्याएर बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको खोप दिएका छौ,” उनले भने ।
सन् २०३० सम्म कुकुरको टोकाइबाट मानिसमा हुने रेबिजको मृत्युदुर शुन्यमा झार्ने सरकारको लक्ष्य बमोजिम सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप लगाइने उनले बताए । “शिविरमा सामुदायिकसँगै घरपालुवा कुकुरलाई पनि बन्ध्याकरण र खोप प्रदान गरिनेछ,” उनले भने ।
पहिलो चरणमा व्यास नगरपालिकाभित्र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरिएको र विस्तारै अन्य स्थानीय तहमा पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ । जथाभावी सामुदायिक कुकुरको बिगबिगी बढेपछि केन्द्रले गत वर्षपनि नगर क्षेत्रभित्रका ५० कुकुरको बन्ध्याकरण गरिदिएको थियो ।
“छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको सङ्ख्या घटाउनका लागि स्थायी बन्ध्याकरण अभियान चलाएका हौ,” डा. श्रेष्ठले भने ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।