दमौली । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि तनहुँका राजनीतिक दलहरुले स्वागत गरेका छन् । सरकारले वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि जिल्लास्थित नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले उक्त निर्णयको स्वागत गरेका हुन् ।
खबरपुञ्जसँग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहको निर्वाचन हुनु सुखद भएको भन्दै सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । लोकतन्त्र संस्थागत गर्ने काममा नेपाली काङ्ग्रेसको सदैव सहयोग रहने बताउँदै आलेले आवधिक निर्वाचनले लोकतन्त्र संस्थागत गर्ने बताए ।
“राजनीतिक लाभको हिसाबकिताब नगरी वैधानिक निर्वाचनलाई सफल बनाउनु हामी सबैको दायित्व हो, काङ्ग्रेसले जित्ने हार्ने कुरा दोस्रो कुरा हो,” आलेले भने ।
नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले निर्वाचनको प्रक्रियाले संविधानको कार्यान्वयन हुने र लोकतन्त्र र सङ्घीयता बलियो हुने बताए । संविधानको भावना अनुरुप पहिल्यै नै मिति घोषणा हुनुपर्ने भएपनि ढिलै भएपनि सरकारले निर्णय गरेकामा श्रेष्ठले खुशी व्यक्त गरे ।
“नेकपा एमाले र जनताले पनि मिति घोषणाका लागि व्यापक दबाब दिए, आम जनता खुसी भएका छन्,” उनले भने, “चुनावमार्फत् लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा लाग्न सबैलाई अपिल गर्दछु ।”