तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि १६ टावर तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि १६ टावर तयार

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७८, आईतवार

    दमाैली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि १६ वटा टावर सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म १६ वटा टावर तयार भएको हो ।

    दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण कार्य तीव्र गतिमा चलिरहेको आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३५ वटा टावरको जग हाल्ने कार्य सम्पन्न भएको छ ।

    प्रशारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

    प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत विकास विभाग पठाइएको छ । प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार पाँच सय दश मुआब्जा निर्धारण भएको छ ।

    आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको सबैभन्दा ढिलाई भएको प्याकेज १ अन्तर्गतको कामका लागि गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

    आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

    प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । उक्त प्याकेज अन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका काम भइरहेको छ । सिनो हाइड्रोले पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार चार सय मिटरको सुरुङ खन्ने काम जारी छ ।

    आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किमि रहेको छ । उक्त नदीको अनुमानित औषध बहाव १०७.७ घनमिटर रहेको र सेती नदीको अनुमानित वार्षिक थेग्यान दर ३७६६ घनमिटर प्रति वर्ग किमि रहेको छ । आयोजनामा थेग्यान बगाउने प्रविधि अपनाइएकाले जलाशयको सञ्चालन आयु करिब एक सय ३७ वर्ष हुने अनुमान छ । एक सय ४० मिटर बाँधको उचाई रहने आयोजनाको भूमिगत विद्युतगृहको लम्बाई ८९ मिटर, चौडाई २२ मिटर र उचाई ४४ मिटर रहनेछ ।

    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।