दुलेगाैडा । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता हुने भएको छ । भजनको संरक्षण र प्रर्वद्धन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिइन् ।
खनालका अनुसार भजन प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले ३१ हजार रुपैयाँ, तेस्रोले १६ हजार रुपैयाँ र सान्तवनाले पाँच हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महाशिवरात्रि पर्वको अवसरमा भजन प्रतियोगितासंगै च्यवनधाममा हिमालको आकृति उद्घाटन, सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मिक अनुष्ठानका कार्यक्रम हुनेछ । बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलिको प्रस्तुती विशेष रहने आयोजकले जनाएको छ ।
पछिल्लो समयमा स्थानीयको सकृयतामा धार्मिक स्थलको रुपमा विकसित च्यवनधाम परिसरमा १०८ धारा, १०८ शिवलिङ्ग, १०८ वरपिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु बनेको छ ।