दमौली । तनहुँको व्यास नगरपालिकाले महिला हाफ म्याराथन र खुल्ला अल्ट्रा म्याराथनको तयारी तीव्र पारेको छ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसारका लागि नगरपालिकाले महिला हाफ म्याराथन र अल्ट्रा म्याराथनको तयारी गरेको हो ।
नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए ।
नारी दिवसका अवसरमा फागुन २४ गते महिला हाफ म्याराथन र २८ गते अल्ट्रा म्याराथन हुँदैछ । प्रत्येक वर्ष शहिद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथन कोरोना कहरका कारण फागुन २८ गतेलाई सारिएको छ । महिला हाफ म्याराथन दोस्रो र अल्ट्रा म्याराथन पाँचौ संस्करण हो ।
महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन व्यासगुफादेखि तनहुँसुरसम्म हाफ म्याराथन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । व्यास गुफा र तनहुँसुरलाई खेलकुदका माध्यमबाट जोड्ने उद्देश्य रहेको उनले बताइन् ।
महिला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८, तृतीय हुनेलाई रु २१ हजार ७८ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिनेछ ।
व्यास अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ७८, द्वितीय हुनेलाई रु ६५ हजार ७८, तृतीय हुनेलाई रु ५५ हजार र सान्त्वना हुने पाँच जनालाई रु १६ हजार ७८ का दरले पुरस्कार प्रदान गरिनेछ ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।
“धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिक स्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्य सहित म्याराथन गर्न लागेका हौ,” उपप्रमुख जोशीले भनिन् ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । “पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ,” न्यौपानेले भने ।
पछिल्लो केही दिनयता ऐतिहासिक तनहुँसुर भाइरल बनेको छ। तनहुँसुरमा सडक कालोपत्र भएपछि त्यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँसुरलाई पुरानै अवस्थामा फर्काउन नगरपालिकाले प्रयास गरिरहेको न्यौपानेले बताए । “म्याराथनले मानुङ चर्चित भएसँगै स्थानीयवासी त्यहॉ फर्किएका छन्, अब तनहुँसुरलाई पनि पुरानै अवस्थामा फर्काउने प्रयासमा छौ,” उनले भने ।
व्यास नगरपालिका–५ मानुङबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
अल्ट्रा म्याराथनमा दुई सय र महिला हाफ म्याराथनमा एक सय ५० धावक सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु २२ लाख खर्च हुने अनुमान गरिएको छ । पुरस्कारमा मात्रै रु चार लाख ३४ हजार खर्च हुनेछ । टिसर्ट व्यवस्थापनमा रु पाँच लाख ७२ हजार, प्रमाणपत्र ट्रफीमा रु दुई लाख, मञ्च व्यवस्थापनमा रु एक लाख, मानुङकोटमा नास्ता व्यवस्थापनका लागि रु ४० हजार, पुलिमराङमा खाना व्यवस्थापनमा रु तीन लाख र यातायात व्यवस्थापनमा रु दुई लाख खर्च हुने अनुमान गरिएको छ ।