दमाैली । जबरजस्ती करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाह विरुद्ध १२ दिनको म्याद थप गरिएको छ । प्रहरीले शाहलाई आइतबार अदालत उपस्थित गराएकामा तनहुँ अदालतले १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि फागुन १५ गते शाह विरुद्ध सात दिनको म्याद थप गरिएको छ । अनुसन्धान प्रक्रिया नसकिएकाले प्रहरीले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताएको छ ।
शाह प्रहरी हिरासतमा रहेदेखि नै शाहका पक्षमा जिल्ला प्रहरी कार्यालय अगाडी नाराजुलुस भएको थियो । काठमाडौबाट आएका केही युट्युवेहरुले आफै नारा लगाएर शाहको पक्षमा माहोल बनाएका थिए । प्रेस काउन्सिल, गृह मन्त्रालय लगायतले भ्रम फैलाएको भन्दै कारवाही गर्न सिफारिस गरेपछि भने उनीहरुले दमौली छाडेका थिए ।
१७ वर्षीया गायिकालाई जबरजस्ती गरेको अभियोगमा पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।
जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारवाही गरी कानून बमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।