दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला तनहुँ आउने भएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन पौडेल गृहजिल्ला आउन लागेका हुन् ।
आइतबार जिल्ला आउने पौडेल चैत १० गतेसम्म जिल्लामा रहने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।
चैत ७ गते नेपाली काङ्ग्रेसका प्रदेश सदस्य हरिदत्त पौडेलको पिता स्व. सतञ्जीवि पौडेलको १३ औं दिनमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुने पौडेल सोही दिन भानु–१३ को माहोरिया खड्का गाउँ, भानु–१२ को आहालेमा भेटघाटमा सहभागी हुनेछन् ।
चैत ८ गते नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ (ख) को डुम्रेमा आयोजित सभा, सोही दिन १ (क) को दमौलीमा आयोजित सभालाई पौडेलले सम्बोधन गर्नेछन् । चैत ९ गते क्षेत्र नम्बर १ को आयोजनामा दमौलीमा हुने सभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चैत १० गते तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौ तनहुँ महोत्सवमा पौडेलले सम्बोधन गर्नेछन् । त्यस्तै ऋषिङमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा गाउँपालिकाको भवन उद्घाटनपश्चात् काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।