दमाैली । टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय तनहुँले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तथा योजना गोष्ठि सुरु गरेको छ । आगामी चैत २५ गतेदेखि सुरु हुने खोप अभियान सञ्चालनका लागि कार्यालयले मङ्गलबारदेखि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरेको हो ।
खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले स्वास्थ्यकर्मीलाई योजना निर्माण सहित प्रशिक्षण दिइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
अभिमुखीकरणका क्रममा स्वास्थ्यकर्मीलाई कोल्डचेन व्यवस्थापन, आपूर्ति, खोपकेन्द्र निर्धारणका बारेमा जानकारी गराइनेछ । तनहुँमा नियमित खोपको प्रगति अवस्था न्यून रहेकाले खोपलाई प्रभावकारी बनाउनुपर्ने अधिकारीले बताए ।
स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीले टाइफाइड खोपको औचित्यका बारेमा जानकारी गराए । १५ वर्षमुनिका बालबालिकामा टाइफाइडको बढी जोखिम हुने भएकाले उक्त उमेर समूहका बालबालिकालाई खोप दिन लागिएको उनले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले टाइफाइड विरुद्धको खोप अभियानबारे समाजलाई बुझाउनुपर्ने बताए । खोपका बारेमा अफवाह फैलाउने प्रवृत्ति कायम रहेको बताउँदै उनले कोभिड खोप अभियानले आम मानिसमा खोपबारे सकारात्मक सोच भने विकास भएको बताए ।
तनहुँमा चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म टाइफाइड खोप अभियान सञ्चालन हुँदैछ । त्यसक्रममा ७५ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ।