भ्युटावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा. कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भ्युटावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ : डा. कोइराला

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७८, आईतवार

    दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा. कोइरालाले देशका विभिन्न ठाउँमा भ्युटावर बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए ।

    “विकासका लागि पैसा छैन भन्छौ, भ्युटावरमा अनावश्यक खर्च गरिरहेका छौ, मधेशमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्,” उनले भने, “यस्तो काम रोकिनुपर्छ ।” काङ्ग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्युटावर बनाउँदैनौ भनेर प्रतिज्ञा गर्नुपर्ने बताउँदै उनले भने, “चुनाव आउँदैछ, भ्युटावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौ भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली काङ्ग्रेसका लागि फाइदा हुन्छ ।”

    डा. कोइरालाले तनहुँ जिल्ला सुगम भएपनि मानिसहरु अझैपनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए । “देश कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने यसले देखाएको छ, तनहुँमा त यस्तो अवस्था छ भने दुर्गम जिल्लामा के अवस्था होला भनेर बुझ्न जरुरी छ,” उनले भने ।

    डा. कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको भन्दै कसरी गठबन्धन भन्ने विषय प्रष्ट नभएको बताए । “गठबन्धन कसरी गर्ने भन्ने कुरा स्थानीय तहमा बसेर मिलाउनुस्,” उनले भने ।

    केन्द्रीय सदस्य गोविन्द भट्टराईले काङ्ग्रेसको नेतृत्वमा जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए । बन्दीपुरमा खानेपानी, सडक लगायतका योजनामा काङ्ग्रेसको पहल रहेको बताउँदै उनले विकास गर्ने पार्टी भनेको नेपाली काङ्ग्रेस रहेको दावी गरे ।

    महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउन, दलित, मुुस्लिमलाई अधिकार दिलाउने नेतृत्व नेपाली काङ्ग्रेसले गरेको बताउँदै उनले भने, “काङ्ग्रेस जहिल्यैपनि जनताका पक्षमा काम गर्छ ।” काङ्ग्रेस नेतृत्वको सरकारले नै विगतमा गाउँ गाउँमा स्वास्थ्यचौकी, खानेपानी, विद्युत, सडक निर्माणको काम गरेको उनले बताए ।

    खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको अध्यक्ष रोजन बानियाँले जानकारी दिए । उक्त आयोजनाबाट २२५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी योजनाबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका स्थानीयवासीका घरघरमा धारा जडान गरिएको छ ।