केही वर्षयताको नेपाली समाजको अध्ययन गर्ने हो भने स्वदेशभन्दा विदेश जाने र उतै घरजम गर्ने मोह बढेको पाइन्छ । सके यूरोप, अमेरिका नसके खाडी र मलेशिया ताक्नेको संख्या बढ्दै छ । विदेश गएकामध्ये बस्न मिल्ने अवस्था हुँदासम्म उतै बस्ने र त्यस्तो अवसर नपाउनेहरू स्वदेश फर्कने गरेका उदाहरण प्रशस्तै छन् । तर, यस्तै परिवेशमा पोखराका पुष्पराज अधिकारी भने यूरोपको २० वर्षे बसाइ छोडेर आफ्नै गाउँमा फर्किएर खेर गइरहेको जमीनमा आधुनिक रूपाकोट रिसोर्ट निर्माण गर्न सफल भएका छन् । धेरैले ‘असम्भव’ भनेको स्थानमा आधुनिक रिसोर्ट बनाइसकेपछि आउँदै गरेको स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरमा उठ्ने उनको तयारीसमेत छ । चुनाव जितेर पोखरालाई नमूना शहर बनाउन खोजेका अधिकारीसँग उनको यूरोप बसोवासदेखि, रूपाकोट रिसोर्ट हुँदै मेयरको दाबेदारीसम्मका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :
यूरोपमा २० वर्ष बर्सेको व्यक्ति नेपाल फर्कनुभयो ? नेपालीहरू विदेश जाने क्रम बढेका बेला यस्तो निर्णय उल्टो भएन र ?
म शुरूदेखि नै नेपाललाई माया गर्ने व्यक्ति हुँ । त्यसैले सानै उमेरदेखि नै पर्यटन क्षेत्रमा लागेको छु । कलेजको अध्ययन गर्दैताका नै ट्राभल सञ्चालन गर्दा लन्डन, हङकङलगायत देश घुमेँ । त्यही बीचमा नेपालमा सञ्चालन गरिरहेको ट्राभलको व्यापार राम्रो नभएपछि बेल्जियम गएँ । त्यहाँ २० वर्ष बसेपछि कतिसम्म विदेशमै बसिरहने भन्ने सोच आयो अनि स्वदेश फर्कने निर्णय गरेको हुँ । १० वर्षअघि म नेपाल फर्कन पाए पनि मेरो सोच त्यसअघि नै फर्कने थियो । शुरूमा माओवादी द्वन्द्वका कारण र पछि छोराछोरीको शिक्षाका कारणले स्वदेश फर्कन केही ढिला भएको हो ।
बेल्जियममा कुन व्यवसाय गर्नुहुन्थ्यो ?
बेल्जियममा रेस्टुराँ सञ्चालन गर्थें ।
नेपाल फर्केपछि उताको व्यापार के गर्नुभयो ?
कोही आफन्तलाई जिम्मा लगाएको छु । केही विक्री गरेँ ।
नेपाल फर्केको पनि १० वर्ष भइसक्यो । यस अवधिमा के के गर्नुभयो ?
मुख्य रूपमा रूपाकोट रिसोर्ट निर्माणमा नै खटिएँ । रिसोर्टको निर्माण सकिएपछि विगत ७ वर्षदेखि सञ्चालनमा आइसकेको छ ।
बहुसंख्यक नेपाली निश्चित अवधि काम गरेपछि पुग्यो भन्दै घरमै बसिरहेका हुन्छन् । तपाईं त २० वर्ष यूरोपमा बसेर फर्केपछि पनि व्यवसायमा सक्रिय रूपमा लाग्नुभयो । यस्तो गर्न तपाईंलाई केले प्रेरणा दियो ?
म धेरै महत्त्वाकांक्षी व्यक्ति हुँ । म ११० वर्षसम्म बाँच्छु भन्ने लाग्छ । र, ९० वर्ष हुँदासम्म कामै गर्ने सोच छ । अहिले त म ५७ वर्षको मात्र भए । त्यसैले अझै ३० वर्ष म काम गर्न चाहन्छु । काम गर्नुपर्छ भन्ने सोच नै मेरो प्रेरणा हो ।
तपाईं अझै किन ३० वर्ष काम गर्न चाहनुहुन्छ ?
ढिलोचाँडो मान्छे मरेर त जाने नै हो । यसकारण यो संसारमा केही न केही छोडेर जानुपर्छ भन्ने मेरो चाहना छ ।
के काम गर्न चाहनुहुन्छ ?
ट्राभल, होटेललाई राम्रोसँग सञ्चालन गर्ने हुनसक्छ । ट्राभल, होटेलमा नयाँ प्रयोग र राम्रा घरको प्रयोग हुन सक्छन् । सभ्यताको विकास गर्न सकिन्छ । गुणस्तरलाई जोड दिन सकिन्छ । यी चिज मैले बनाएको रिसोर्टमा अहिले पनि देख्न सकिन्छ । मैले गर्न चाहेको कामको उदाहरण मेरो रिसोर्ट नै हो भन्ने मलाई लाग्छ । पानी, बिजुली, बाटो राम्रो नभएको ठाउँमा रिसोर्ट बनेको छ । धेरैले असम्भव भनेको ठाउँमा आधुनिक रिसोर्ट निर्माण गरेर सम्भव भएको छ । विकट र खरबारी जहाँ मान्छेले केही पनि हुँदैन भनेर छाडेको स्थानमा आज विकास भएको छ । अहिले रूपाकोट निर्माण भएको स्थानमा मान्छेले मकैसम्म उत्पादन हुँदैन भनेर छाडेका थिए । आज त्यही ठाउँमा बनेको रिसोर्ट सबैको आकर्षक गन्तव्य भएको छ ।
रिसोर्ट बनाउनुको कारण व्यवसाय गर्नु हो वा यहाँका मान्छेलाई सिकाउन ?
दुइओटै हो । म हरेक काममा चुनौती चाहन्छु । त्यसैले गाउँमा रिसोर्ट बनाउने निर्णय गरेको हुँ । शहरमा त सबैले बनाउन सक्छन् । गाउँलाई शहर बनाउन कठिन हुन्छ, मैले सोही चुनौती चिर्न रूपोकोटमा रिसोर्ट बनाउने पाइला चालेको हुँ । डाँडामा जन्मे, हुर्केकाले पनि मलाई डाँडा नै मन पर्यो । डाँडापाखा मन पर्ने भएकाले नै म सधैं युवा अवस्थाकै महसूस गर्छु ।
तपाईं जुन आदर्शको कुरा गर्दै हुनुहुन्छ, त्यतिले रिसोर्ट सञ्चालन हुन सक्ला त ?
रिसोर्ट चलिसक्यो । जब जुनसुकै व्यवसायमा नयाँपन दिइन्छ, त्यसपछि चलिहाल्छ । नयाँ काम गर्नेहरू सफल हुन कठिन हुँदैन । तर, काममा प्रतिबद्ध भने हुनुपर्छ । रूपाकोट रिसोर्ट डाँडोमा बने पनि नयाँपन भएकाले सञ्चालन गर्न कुनै कठिन नभएको हो । त्यसैले आज हामी रिसोर्ट सञ्चालनका लागि मार्केटिङ गर्दैनौं । रूपाकोट युवापुस्ताको गन्तव्य बनिसक्यो । कोरोना महामारीका बेला केही सुस्त रहेको व्यापार अहिले लयमा आइसकेको छ । रिसोर्टमा मान्छेहरू आउने क्रम बढेको छ । यदि विदेशका सबै नाका खुल्ने हो र कुनै रोकटोक नहुने हो भने रूपाकोटमा निकै राम्रो सम्भावना देखिएको छ । त्यही सम्भावनालाई देखेर ६० कोठाको रिसोर्टलाई थप विस्तार गर्ने कार्य हुँदै छ ।
अहिले आइरहेका पर्यटक स्वदेशी हुन् कि विदेशी ?
कोही स्वदेशी र कोही विदेशी हुन् । पर्यटकको वृद्धि देखेर म खुशी छु । रिसोर्ट सञ्चालनका लागि मेरो राम्रो टीम छ । छोराहरूले नै रिसोर्ट सञ्चालनको नेतृत्व लिन थालेका छन् ।
तपाईं २० वर्ष यूरोपको अनुभव बोकेको व्यक्ति, यस्तो व्यक्तिले चलाएको रिसोर्ट अन्यभन्दा के फरक छ ?
पहिलो त रिसोर्ट रहेको भौगोलिक अवस्था अन्यभन्दा फरक छ । यहाँको दृश्य निकै मनोरम छ, जहाँबाट ताल पनि देखिन्छ । राम्रो घाम, हावा लाग्छ । सूर्योदय, सूर्यास्त सहजै देखिन्छ । सबै चिज एकै स्थानबाट देखिने विरलै स्थानमा पर्छ, रूपाकोट । त्यसैले मैले रूपाकोटलाई प्रकृतिको अनुपम वरदान भन्ने गरेको छु । यस्तो ठाउँमा जो कोही आउँदा नै अनुहारमा खुशीपन आउँछ । मान्छेले मन पराउनु भनेको जुनसुकै व्यवसायका लागि सबैभन्दा बलियो पक्ष हो । व्यवसायका लागि ठूलो मार्केटिङ भनेकै मान्छेले मन पराउनु हो । मान्छेको मन जितेमा एकअर्काले नै विज्ञापन गर्दा रहेछन् । भौगोलिक बनावटअनुसार भौतिक संरचना तयार पारेका छौं । यस्तै हामीले दिने सेवा थप आकर्षक छन् । त्यतिमात्र नभई समय परिवर्तनशील भएकाले सोहीअनुसार नै सेवा विस्तार भइरहेको छ ।
नेपालमा कैयौं व्यवसायीले उद्यम व्यवसाय गर्ने माहोल छैन भन्ने गर्छन् । तपाईंको अनुभव कस्तो छ ?
नेपालमा दक्ष मान्छे नै छैनन् कि जस्तो लाग्दै छ । काम गर्ने क्रममा कर्मचारीदेखि सबै निकायले को राम्रो र को नराम्रो भन्ने छुट्ट्याएको देखिँदैन । कर्मचारीवृत्त र राजनीतिमा राम्रा मान्छे भएको भए धेरै समस्या हल हुन सक्थ्यो भन्ने मलाई लाग्छ । कर्मचारी र राजनीतिकर्मीले आफूलाई फाइदा हुने देखेमा जस्तो पनि काम गर्ने नत्र नगर्ने प्रवृत्ति रहेछ । सोही कारणले काम गर्ने क्रममा थुप्रै बाधा अड्चन आए । त्यस्तै कति ठाउँमा विदेशीको अनावश्यक हस्तक्षेप रहेको मैले पाएको छु । हाम्रा लागि के आवश्यकता छ भन्नुभन्दा पनि विदेशीको स्वार्थमा काम हुने गरेको देखिएको छ । विकासको काममा कर्मचारी र राजनीतिकर्मी स्पष्ट नहुँदा नेपालमा वैदेशिक लगानीदेखि दक्ष जनशक्ति ल्याउनसम्म समस्या छ ।
स्रोत जुटाउन कत्तिको गाह्रो छ ?
अहिले बैंकहरू धेरै भएकाले स्रोत जुटाउन सहज हुँदै छ । तर, यसका लागि परियोजना टिकाउ, राम्रो र नाफा गर्ने खालको हुन आवश्यक हुन्छ । स्रोतको जोहोबारे कुरा गर्नुपर्दा पहिलाभन्दा सहज छ । अहिलेको समस्या भनेको दक्ष मान्छे पाउन नसक्नु हो । दक्ष मान्छे विदेश जाने चलन छ । साथै नेपालमा उद्यमशीलतालाई सहयोग गर्ने संस्कार पनि विकास हुन सकेको छैन ।
तपाईंले आन्तरिक रूपमा स्रोत जुटाउन सहज हुँदै गएको बताइरहँदा वैदेशिक लगानीमा भने खासै वृद्धि भएको देखिँदैन । यसको कारण के हो जस्तो लाग्छ ?
यसका लागि पनि सरकारी नीति र व्यवस्था नै बाधक छन् । मैले बारम्बार भन्ने गरेको छु कि पोखरामा अपार्टमेन्ट तयार पारी विदेशीलाई विक्री गर्न सकिन्छ । तर, सरकारी नीतिले गर्दा विदेशीले आफ्नो नाममा घर किन्न पाउँदैनन् । विदेशीले लगानी गर्न विश्वासको वातावरण त चाहियो नि । अन्य मुलुकमा विदेशी नागरिकले घर किन्नुपर्यो भने पाउँछन् । उनीहरूले घर, जग्गा धेरै भएर विदेशीलाई विक्री गरेका होइनन् । विदेशी लगानी भित्र्यााउन यस्तो व्यवस्था गरिएको हो । नेपालले या त विदेशी लगानी चाहिएन भन्न सक्नुपर्छ नभए नियम, कानून संशोधन गर्न आवश्यक हुन्छ । देशका उद्यमीलाई असर नगर्ने क्षेत्रमा विदेशी लगानी भित्र्यााउन सहज नीति चाहिन्छ । नेपालमा मौसमदेखि बसोवास सहज भएकाले विदेशी आउन चाहन्छन् । कृषि, पर्यटनको सम्भावना त्यस्तै छ । जडीबुटीको सम्भावना उस्तै छ । केही दिनअघि मैले बेल्जियममा हिउँ पर्यो भन्ने सुनेँ । अप्रिलमा हिउँ पर्ने देशमा अन्य बेलाको मौसम खासै राम्रो हुने कुरा भएन । मेरो विचारमा राम्रो मौसम भएकाले पनि विदेशी लगानीका लागि नेपाल उर्वर छ । तर, सरकारी नीति यस्तो अव्यावहारिक छ कि त्यसले केवल निराशा दिने मात्र गरेको छ । ५ करोड रुपैयाँभन्दा थोरैलाई वैदेशिक लगानी मानिँदैन । तर, कोही विदेशीले २–४ करोड लगानी गर्न खोज्यो भने नपाउने अवस्था छ । बैंकिङ च्यानलबाट एक मिलियन डलरसम्मको स्रोत नखोज्दा पनि हुन्छ भन्ने लाग्छ मलाई । यस्ता काम गर्न सक्यो भने अन्तरराष्ट्रिय स्तरमा नेपालप्रतिको विश्वास बढ्छ । त्यसले नै देशको शाख बनाउने हो । सरकारले सबैका लागि गर्ने काम राम्रा हुुनुपर्यो । सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । कुनै कर्मचारी वा नेता विदेश गयो भने सुन्तला छोडाएर झोलामा राखेर डस्टबिनमा फाल्छ, तर नेपालमा नीति, नियम, अनुशासनको पालना हुँदैन । यस्तो अवस्था नसुधारिएसम्म प्रगति हुँदैन । पछिल्लो समय केही नभएको भन्ने चाहिँ होइन । तर, पर्याप्त भएन भन्ने हो । सबै ऐन, कानून र अनुशासनमा बाँधिन आवश्यक छ ।
कतिपय व्यक्ति नेपाल अव्यवस्थित भइरहनुको एउटा कारण शिक्षित र दक्ष युवा विदेश जानु पनि हो भन्ने तर्क गर्छन् । तपाईंलाई के लाग्छ ?
त्यो यथार्थ हो । हाम्रो कर्मचारीतन्त्र र राजनीतिक तहमा कुन तहका मान्छे छन् भन्ने उदाहरण हेर्यौं भने त्यो थाहा हुन्छ । अब्बल विद्यार्थी त विदेश गएकै छन् । राम्रा मान्छे स्वदेशमा बस्ने अवस्था रह्यो भने कर्मचारीतन्त्र र राजनीतिमा तिनै राम्रा मान्छे आउने हुन् ।
तपाईं आफै पनि २० वर्ष यूरोपमा बसेर फर्किनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीमा युवाको आकर्षणप्रति के धारणा छ ?
यो बेला युवालाई वैदेशिक रोजगारीमा पठाउने होइन, विदेशीलाई नेपालमा काम गर्न ल्याउने हो । यो त लुतो कन्याएर राहत महसूस गरेजस्तै हो । अहिले त नेपालीको जन्म नै विदेशीको लुगाफाटो धुन र सेवा गर्न भएको हो जस्तो लाग्छ ।
वैदेशिक रोजगारीमा जान नपाए कतिपयको घर नै चल्न नसक्ने अवस्था छ भन्ने थाहा पाउनु भएको छ ?
नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको २५–३० वर्ष भइसक्यो । अहिलेसम्म वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने कुनै उपाय अवलम्बन गरेको देखिँदैन । यतिका वर्षसम्म युवा वैदेशिक रोजगारीमा जाँदा देशमा त खासै सुधार भएन । युवालाई स्वदेशमै रोजगारी दिन र देशलाई सबल बनाउन उद्योग स्थापना हुनुपर्छ । यस्तो काम गर्न सम्भव छ । नेपालमा वर्षमा तीनओटा बाली लगाउन सकिन्छ । एकीकृत कृषि उत्पादन हुन्छ । एउटै बारीमा मकै र तरकारीको उत्पादन हुन्छ । त्यसैले यहाँ सम्भावना नै सम्भावना छ । तर, हामी युवालाई विदेश पठाएर उल्टो दिशामा गएका छौं । नेपालमा पर्यटन, कृषिको अथाह सम्भावना छ भन्ने कुरा बुझाउनै सकेका छैनौं । नेपालको हरेक क्षेत्रलाई पर्यटनसँग जोड्न सकिन्छ भन्ने मेरो धारणा छ । तर, यी क्षेत्रमा काम गर्न नीतिनियम बनाउने मान्छेमा अलमल देखिन्छ । त्यसैले अहिलेको अवस्थामा सुधार ल्याउन मैले राजनीतिमा प्रवेश गर्ने योजना बनाएको छु ।
व्यवसाय गर्ने इच्छा पुग्यो ?
अब रिसोर्टको व्यवसाय विदेशको अध्ययन पूरा गरेर फर्केका छोराहरूले हेर्छन् । मेरो अनुभवमा आर्थिक सुधारका लागि उद्यमशीलताको आवश्यकता पर्छ भने देशको अवस्था सुधार गर्न राजनीति चाहिन्छ । त्यसैले मैले आउँदो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छु, जसका लागि म आबद्ध रहेको दल र अन्य सम्बद्धसँग छलफल भइरहेको छ ।
मेयरमा किन उम्मेदवारी दिन खोज्दै हुनुहुन्छ ?
मुख्य कुरा त अहिले भइरहेको प्रणालीमा सुधार गर्न हो । पोखरा महानगरपालिकालाई आधुनिक शहर बनाउनु छ । भौतिक पूर्वाधारमा जोड दिनु छ । सुशासन कायम गर्नु छ । अहिले देखिएका यावत् समस्या समाधान गरी एउटा नमूना पेश गर्न मेयरमा उम्मेदवारी दिने विचारमा पुगेको हुँ । संघ, प्रदेशको सांसद हुनुभन्दा एउटा मेयरले धेरै काम गर्न सक्छ भन्ने मलाई लाग्छ ।
राजनीतिमा लाग्न अझ भनौं मेयरको टिकट पाउन कत्तिको सहज होला ?
सजिलो त छैन । तर, असम्भव पनि छैन । चुनाव लड्न म मानसिक रूपमा तयार भइसकेको छु । यसका लागि छलफल भइरहेको छ । सबैबाट सहयोग पाउने अपेक्षा छ ।
तपाईं पोखरा महानगरको मेयर हुनुभयो भने पोखरेली जनताको जीवनस्तरमा के फरक आउँछ ?
पोखरालाई समृद्ध र उदाहरणीय बनाउन गाडीको स्टेरिङ आफ्नै हातमा समातेझैं मेयरको जिम्मेवारी लिनुपर्ने भएको हो । अब सैद्धान्तिक र कोरा राजनीतिले मात्र केही हुनेवाला छैन । आर्थिक समृद्धि महत्त्वपूर्ण पक्ष हो । जनताको आर्थिक जीवनमा परिवर्तन नभएसम्म केही अन्य परिवर्तनको सार्थकता हुँदैन । यतिखेर पोखराले परिवर्तन मागेको छ । त्यसैले भिजन भएको नेतृत्व चाहिएको छ । अब पनि नयाँपन नआउने हो भने समयले सबैलाई बरवादी गर्छ भन्ने मेरो बुझाइ छ । मेरो फोकस सुशासन कायम गर्ने, उद्यमशीलताको विकास गर्ने, ठूलाठूला मेगा परियोजना स्थापना गर्ने, फोहोर व्यवस्थापन गर्नेदेखि लिएर समग्र अवस्थामा सुधार गर्ने हो । स्वच्छ वातावरणका लागि पनि काम गर्नुपर्ने अवस्था छ । वैदेशिक लगानी ल्याउन पनि उत्तिकै आवश्यकता छ । पोखरालाई आधुनिक महानगरपालिका बनाउने हो । सूचना र प्रविधिको विकासले काम गर्न त्यति कठिन छैन । विदेशको राम्रो कुरा हेरेर पनि नेपालमा के गर्दा ठीक हुन्छ भन्ने कुरा बुभ्mन सक्यो भने मात्र धेरै उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ । (आर्थिक अभियानबाट)