४७ प्रतिशतसम्म मतदाता सहभागी हुँदैनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ४७ प्रतिशतसम्म मतदाता सहभागी हुँदैनन्

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    दुलेगाैडा । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुदैँछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्दैछन् ।

    यसपाली जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाताले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । २९ वैशाखसम्ममा १८ बर्ष पुरा हुनेलाई निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीको संख्यामा समेटिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो पाँच बर्षमा जिल्लामा ४९ हजार ८६९ मतदाता थपिएका छन् ।

    पछिल्लो डेढ दशकमा भएका निर्वाचनको तथ्याङ्क हेर्दा मतदान गर्न योग्य सबैले आफ्नो मताधिकार प्रयोग गरेको पाईदैन् । हरेक जसो निर्वाचनमा कम्तीमा पनि एक तिहाई मतदाता निर्वाचनमा सहभागी भएर मतदान गर्दैनन् । जिल्लामा मतदान गर्न योग्य मानिएका ४७ प्रतिशत सम्म मतदाताले मतदानमा सहभागी नभएको रेकर्ड छ । बदर मत भने हरेक निर्वाचनमा घट्दो देखिन्छ ।

    सशस्त्र जनयुद्धपछि पहिलो पटक २०६४ सालमा भएको निर्वाचनमा जिल्लामा ४७.५८ मतदाताले मतदान नै गरेनन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त निर्वाचनमा कुल दुई लाख ६७ हजार ६१८ मतदाता थिए । निर्वाचनमा एक लाख ४० हजार २९३ मत मात्रै खस्यो । झन्डै आधा मत खसेन् । ५२.४२ प्रतिशत मत खसेको थियो । खसेको मतमा पनि सात हजार ९५० बदर भएको तथ्याङ्क छ । ५.६६ प्रतिशत मत बदर भएको तथ्याङ्कले पुष्टी गर्र्दछ ।

    त्यसपछि २०७० सालमा भएको निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या निकै बढ्यो । जिल्लामा कुल मतदाताको संख्या एक लाख ६२ हजार ७६८ थियो । निर्वाचनमा ७३.५२ प्रतिशत अर्थात एक लाख १९ हजार ६६३ मत खस्यो । र पाँच हजार ३३ मत बदर भएको देखिन्छ । मतदानमा सहभागी भएकाले ४.६२ प्रतिशत सही तरिकाले मत हालेनन् ।

    २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ कुल मतादात रहेकोमा १ लाख ३२ हजार ९४४ मत मात्रै खसेको थियो । ६८.३७ मतदाता मात्र मतदान प्रकृयामा सहभागी भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा खसेको मतको पनि २.५३ प्रतिशत मत बदर भएको छ । तीन हजार ३६५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

    सोही बर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झनै कम मतदाता सहभागि भए । एकै दिन भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि फरक फरक मत खसेको छ । दुई लाख ११ हजार ३९६ कुल मतदाता थिए । प्रतिनिधि सभामा एक लाख ३६ हजार २६१ र प्रदेश सभामा एक लाख ३६ हजार १२१ मत खस्यो । ६४.४३ मत खसेको तथ्याङ्कले देखाउँछ । प्रतिनिधि सभामा छ हजार ६६५ अर्थात ४.८९ प्रतिशत मत बदर भयो । प्रदेश सभामा चार हजार ६१४ मतदाताले ढंग पु¥याएर मतदान गरेनन् । प्रदेश सभातर्फ ३.३८ प्रतिशत मत बदर भयो । एकै दिनमा भएको मतदानमा पनि मतदान र बदर भएको मतमा घटबढ देखियो ।

    पछिल्लो डेढ दशकमा सबै भन्दा कम २६.४८ प्रतिशत र बढी ४७.५८ प्रशित मतदाताले मतदान गरेनन् । किन यति धेरै मतदाताले मतदानमा सहभागिता जनाउदैनन् ? निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकाल भन्छन्, ‘व्यक्ति स्वंयम मतदानमा उपस्थित हुनुपर्दछ । मतदाता नामावली भएका तर वैदेशिक रोजगारीमा धेरै हुने भएकाले मतदाताको तुलनामा मतदान कम हुन्छ ।’

    विदेशमा भएकालाई मतदान प्रकृयामा सहभागी गराउने प्रणाली नभएको कारण झन्डै एक तिहाई बढी मत नखस्ने गरेको उनी बताउँछन् । ‘यहाँ मतदाता नामावली छ । मान्छे बाहिर हुनुहुन्छ । त्यो कारणले गर्दा पनि कम मत खस्ने भयो । अर्को कारण निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको नामावली घर ठेगानामा छ । मतदानमा सहभागी हुुन उहाँहरु पाउनु हुदैन् । कतिपय मतदाताले कस्लाई मतदान गरेर के हुन्छ र भन्ने ठानेर मतदान प्रकृयामा सहभागी नै नभएको पाइन्छ ।’ फोटो सहितको मतदाता नामावली सुरु भएपछि मतदानको अनुपात विस्तारै बढ्दै गएको ढकालले बताए ।