दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले नगरप्रमुखमा निर्वाचित भएको भोलिपल्टबाटै काम गर्न थाल्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० बैरेनीमा बुधबार आयोजित कार्यक्रममा न्यौपानेले व्यासमा थुप्रै अधुरा काम बाँकी रहेकाले निर्वाचनबाट विजयी भएको भोलिपल्टबाटै अधुरा काम पूरा गराउनेतर्फ केन्द्रित हुने बताए ।
पाँच वर्षको अवधिमा धेरै काम भएको र केही काम अधुरा रहेकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आफूले नै लिने न्यौपानेले बताए । व्यास नगरपालिकामा आफूहरुले जितिसकेकाले अब घोषणा गर्न मात्र बाँकी रहेको न्यौपानेले दावी गरे ।
उम्मेदवार छनौटका क्रममा केही असन्तुष्टि भएपनि अब कुनैप्रकारका असमझदारी नभएकाले कांग्रेसलाई जिताउनेतर्फ केन्द्रित हुन न्यौपानेले आग्रह गरे ।