शुक्लागण्डकी नगरपालिका–६ : चुनावी मैदानमा बुद्धि भर्सेस रवि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिका–६ : चुनावी मैदानमा बुद्धि भर्सेस रवि

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगौडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी उत्कर्षमा पुग्दैछ । मौन अवधि सुरु हुन धेरै दिन बाँकी नरहेकाले उम्मेद्वारहरुलाई घरदैलोमा पुग्ने दौडधुप निकै देखिन्छ । वडा वडाको चुनावी रौनकले गर्माएको छ । अघिल्लो पटकको तुलनामा यसपाली निकै रोचक भिडन्त हुने पक्कैछ । उम्मेद्वारको प्रोफाइलले पनि चुनावी रौनक बढाएको छ ।

    शुक्लागण्डकी नगरपालिका–६ को चुनावी रौनक पनि रोचक नै छ । यहाँ वडाध्यक्ष बन्नलाई नेकपा एमालेका बुद्धीबहादुर थापा, नेपाली कांग्रेसका रवि केसी, मंगोल नेशनल अर्गनाइजेशनका फणिन्द्रबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका गृ बहादुर परियार र राष्ट्रिय जनमुक्ती पार्टीको दुर्गा थापाले उम्मेद्वारी दर्ता गराएर घरदैलोमा कसरत गरिरहेका छन् ।

    यो वडामा साना दलको जनलहर निकै कम रहेकाले मुख्य प्रतिष्पर्धा एमालेका थापा भर्सेस कांग्रेसका केसीको हुदैछ । वुद्धीसँग अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा जित हासिल गरेर काम गरेको पाँच बर्षे अनुभव छ । शुक्लागण्डकीका १२ वडाका वडा सदस्यमा चर्चामा रहेका निकै कम वडासदस्यको अग्र पंक्तिमा पर्छन् उनी ।

    उनको खटाई र काम गराई प्रशंसनीय भएको चर्चा उनका सहकर्मी नै गर्छन् । पार्टीको जनलहर र अघिल्लो पाँच बर्षमा गरेको कामले जित सुनिश्चित रहेको थापाको दाबी छ । ‘एक त नेकपा एमालेको संगठन नै बलियो छ । दोस्रोमा मैले एक कार्यकाल वडा सदस्य भएर काम गरेको छु । पाँच बर्ष जनतामाझ रहेर जनताका हरेक समस्या समाधान गर्ने जुन अवसर प्राप्त भयो त्यो पनि जित्ने आधार हो’, उनले भने ।

    थापाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताए । खैरेनी माध्यमिक विद्यालयमा प्राविधक शिक्षा सञ्चालन गर्ने र दुई प्राविको शैक्षिक गुणस्तर बढाउने उनले बताए । तिनखोलो मोटरमार्गमा पुल र कजवे, ग्रामिण क्षेत्रका सडकको स्तरोन्नती, शहरी क्षेत्रको सडक साझेदारीमा कालोपत्रे, कृषिमा माथिल्लो बस्तीहरुमा बाख्रा पालानलाई प्राथमिकता, तल्लो क्षेत्रका बस्तीमा दुध र लोकल कुखुरा पालनलाई जोड, जाम्दीबेसीमा तरकारी खेती, किसानलाई निशुल्क प्रविधी, विउ विजन र अनुदान दिने उनको योजना छ ।

    ‘वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लिन चाहेको तालिम दिनेसँगै बैंक तथा वित्तिय संस्थासँग सस्तो व्याजदरमा ऋणको व्यवस्था गरेर उद्यमी व्यवसाय बनाउने योजना छ’, वडाध्यक्षको उम्मेद्वार थापाले सुनाए । युवालाई निशुल्क सिपमुलक तालिम, हरेक घरमा खानेपानीको धारा, खानेपानीको शुद्धतामा ध्यान दिने, मुहना संरक्षणको काम गर्ने उनको उद्घोष छ ।

    व्यापारिक पृष्ठभुमीका रवि पनि सामाजिक क्षेत्रमा क्रियाशिल छन् । ३० बर्षदेखी एमालेको गढ भत्काउदैँ आफुले वडाध्यक्षमा निर्वाचन जित्ने उनले बताए । ‘मैले बोल्नमा भन्दा नि काम गरेर देखाउँछु’, कुराकानीको सुरुवातमै केसीले भने । उनले आफुले जितेमा सेवा सुविधा नलिने उद्घोष गरे । जनतालाई कुनै सेवा सुविधाबाट बञ्चित हुन नदिनेको उनको प्रतिबद्धता छ । उनले पहिलो प्राथमिकता किसान र कृषीलाई दिएको बताए । ‘किसानसँग अनुदान पुग्न सकेको छैन् । दुई वटा भैसी पालेर २० वटा भैँसी देखाएर अनुदान लिईरहेको अवस्था छ’, उनले थप्दै भने, ‘सस्तो कृषि ऋण साना किसानले पनि पाउने र पुरस्कृत गर्नेछु ।’

    एक हल गोरु पाल्ने किसानलाई अनुदानमा २० हजार रुपैयाँ उपलब्ध गराउने केसीको उद्घोष छ । वडाध्यक्ष जितेर पाउने सेवासुविधा पनि किसान, दिर्घरोगी, शिक्षामा वञ्चित भएका र विपन्नहरुको हितमा खर्चने उनी बताउँछन् । सडक स्तरोन्नती, खानेपानी, मठमन्दिर, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलब्ध गराउने, खैरेनीटारदेखी भुजीकोट हुदैँ कोत्रे छिचोल्ने रिङरोड निर्माण, उद्योगधन्दा कलकारखाना लगायतलाई उनले आफ्नो घोषणपत्रमा समेटेका छन् ।

    अघिल्लो स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा वडा नम्बर ६ मा नेकपा एमालेका कृष्णबहादुर पौडेलले ९२७ मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका रेशमलाल पौडेलले ४५६ मत ल्याएर पराजित भएका थिए । वडा सदस्यमा पनि यो वडामा एमालले क्लिनस्विप पारेको हो । यसपाली कस्ले बाजी मार्नेछ यो वडामा बैशाख ३० को परिणामले् बताउनेछ ।