तनहुँका प्रजिअ अर्याल भन्छन् : निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका प्रजिअ अर्याल भन्छन् : निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७९, बुधबार

    दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासन प्रतिबद्ध रहेको अर्यालले बताए ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले मङ्गलबार जिल्लाको मानवअधिकारको अवस्था र निर्वाचनपूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमाण्डमा चारवटै सुरक्षा निकाय प्रभावकारीरूपमा परिचालन भइरहेको बताए ।

    राजनीतिक दलहरूको पटक–पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाका लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको उनले बताए ।

    निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल सबै प्रतिबद्ध रहेको उनले बताए । स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उनको भनाइ छ ।

    जिल्लाका १३६ वटै मतदात केन्द्र र २९७ वटै मतदानस्थलमा खटिने कर्मचारीको व्यवस्थापन भई कर्मचारी आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको प्रजिअ अर्यालले बताए । एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ अर्यालले बताए ।

    अनुगमनका क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तररूपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराए । सो टोलीले जिल्लाका पर्यवक्षेकसँग पनि अन्तक्र्रिया गरेको थियो ।

    सो क्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहुँकी अध्यक्ष सोनी शर्माले पर्यवेक्षकहरूले निर्वाचन आचारसंहिताको पालनाको अनुगमन र समग्र निर्वाचन कार्यक्रमको अनुगमन गरिरहेको बताइन् ।

    इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक खकुरेल, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का गण्डकी प्रदेश समितिका सदस्य प्रेम सोम्याङ, इन्सेक जिल्ला प्रतिनिधि, नियोक तनहुँ जिल्ला अध्यक्ष सोनी शर्मासहितको टोलीले जिल्लामा मानवअधिकार र निर्वाचनपूर्व अनुगमन गरेका थिए ।