धान, मकै गोड्ने बेलामा तनहुँमा युरिया मलको अभाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धान, मकै गोड्ने बेलामा तनहुँमा युरिया मलको अभाव

    अस्मिता खनाल

    २७ बैशाख २०७९, बुधबार

    दुलेगौडा । तनहूँमा युरिया मलको अभाव भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड दमौली शाखाका अनुसार तनहूँमा वार्षिक १५०० टन युरिया मल माग हुने गरेकोमा चालु आर्थिक बर्षमा ५०० टन मात्रै भित्रिएको छ । डिएपी र पोटास केही स्टक भएपनि १ महिनायता युरिया मल सकिएको शाखाले जानकारी दियो । स्वदेशी उद्योगबाट उत्पादन हुने जैविक मल पनि २ वर्ष देखि शाखामा आएको छैन ।

    बाली गोड्ने बेलामा युरिया मलहाल्ने गरेका किसान मल नपाएपछि चिन्तामा परेका छन् । समयमा मल नपाएपछि खेतीले कम उत्पादन दिने किसान बताउँछन्। मल किन्न कृषि सामाग्री पसलहरुमा किसानको लामो भिड लाग्ने गरेको छ ।

    कृषि सामाग्री कम्पनी लिमिटेड मार्फत आउने अनुदानको मल नआएपछि व्यापारीले ४÷५ दिन बिराएर दोब्बर बढि मुल्यमा बेच्ने गरेको मल किन्न टाढा टाढा देखि किसान बजार आउने गरेका हुन् । मल किन्न भिमाद सिम्लेबाट धाएर खैरेनीटार स्थित प्रकृति भेट सेन्टरमा मंगलबार एकाबिहानै देखि लाईनमा उभिएकी देवी खनालले भनिन् “मल लिन भनेर ४ पटक आईसकेँ, पहिलो पटक आउँदा ४० रुपैयाँ किलो, दोस्रो पटक आउँदा ४५, आज फेरि ५० रुपैयाँ रे, यहिपनि एकछिनपछि सकियो भन्दिछन्, चाहिएको जति मल लैजान पाईदैन, सरकार कहाँ छ? के हेरेर बसेको छ ? हाम्रो कुरा कहिल्यै सुनुवाई हुदैंन ।” मलको मुल्य बर्षेनी बढ्ने तर किसानले उत्पादन गरेका वस्तुको मुल्य कहिल्यै नबढ्ने उनले गुनासो गरिन् ।

    नेपाल सरकारको अनुदान प्राप्त मल नआएको व्यापारीहरु बताउँछन् । मलको माग अत्याधिक बढेपछि सीमानाका क्षेत्रबाट लुकाएर खरिद गरि ल्याएको मल बेञ्ने गरेका छन् । त्यसरी आएको मलको बोरामा कुनै संस्थाको नाम वा छाप लगाईएको हुदैंन । गुणस्तरको कुनै ग्यारेण्टि छैन । त्यही मलका लागि कृषकले सरकारले तोकेको भन्दा दोब्बर बढि मुल्य तिरेका छन्। तर पनि ग्राहकको माग अनुसार युरिया मल पु¥याउन नसकिएको व्यापारीहरुको भनाई छ।

    कृषि सामाग्री लिमिटेड मार्फत आउने मलको मुल्य स्थानीय सरकारले निर्धारण गर्ने प्रावधान छ । शुक्लागण्डकी नगरपालिकाले युरिया मलको मुल्य प्रतिकेजी २२ रुपैयाँ तोकेको छ । तर बजारमाप्रतिकेजी ४५ देखि ६५ रुपैयाँ सम्म युरिया मल विक्रि हुने गरेको छ । “अहिले १०० रुपैयाँ तिरेर पनि मल लैजान्छौ, भन्दै किसानहरु आउनुहुन्छ तर हामीले ४५ मा बेचेका छौं, यही मल ल्याउनपनि कष्ट छ, थोरै मल ल्याउदा धेरै अरु सामान खरिद गरी बिचमा लुकाएर ल्याउने हो”दुलेगौंडाका एक व्यापारीले भने ।

    धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । बर्षौदेखि रासायनिक मल हालिरहेको खेत बारीमा गोबर मलले काम नगर्ने गरेको किसानको अनुभव छ । “बर्षैपिच्छे गोबर मलले पु¥याउन सकिदैंन, युरिया हाल्ने गरेपछि पोहोर साल प्रयोग गरेको भन्दा दुई चार किलो रेसियो बढाउदैं जानुपर्छ, मलको मात्रा पुगेन भने उत्पादन दिदैन”, खैरेनीटार कुम्लेखोलाका किसान केदार पौडेलले भने “युरिया हाल्ने बानी परेपछि नहाली नहुने रैछ, त्यहीभएर जहाँ पुगेर भएपनि ल्याउनैपर्ने वाध्यता छ ।”

    शुक्लागण्डकी ७ मालेबगरका युवा कृषक सुसन पौडेल बर्षेनी मल अभाव हुदाँ कृषि पेशामा जाँगर मर्दै गएको बताउँछन् । “सरकारले किसानको आवश्यकता पुर्ति गर्न सकेको छैन । रोप्ने बेला डिएपी पाईदैन, गोड्ने बेला युरिया पाईदैन । यसको असर उत्पादनमा देखिन्छ, मेहनत अनुसारको उबजनी नभएपछि विदेश जाऊ जाऊ पो हुन्छ । समयमा मल, विउ उपलब्ध हुने हो भने बल्ल युवाहरु कृषितर्फ आकर्षित हुन्छन् ।” पौडेलले भने ।

    मालेबगरकै लक्ष्मी ढकालले लमजुङबाट प्रतिकिलो ६३ रुपैयाँतिरेर युरिया मल मगाईन्। समयमा मल नपाएपछि धान संगै परालको पनि उत्पादन घट्ने लक्ष्मी ढकाल बताउँछिन् ।

    कृषि सामाग्री कम्पनी लिमिटेड दमौली शाखाका प्रमुख दिनेश शर्मा चुनाव अघि मल आउने सम्भावना नभएको बताउँछन् ।

    स्वस्थ जिवनको लागि अर्गानिक उत्पादनको नारा लगाउने गरिएपनि सरकारले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा किसानलाई प्रेरित गर्न सकेको छैन । रासायिनिक मल नराखीकन खेतीगर्दा लागत बढि हुने र बजारमा सस्तो मुल्यमा आयातित कृषिउपज विक्रि हुने भएकाले घाटा हुने किसान बताउँछन् ।

    शुुक्लागण्डकी ७ मालेबगरका कृषक हरि कार्की रासायिनिकमलमा विदेशको भर पर्नुको सट्टा स्वदेशमा नै प्राङ्गारिक मल उत्पादनगर्ने तर्फ सरकार र कृषकहरु लाग्नुपर्ने बताउँछन् । “विदेशबाट आउने रासायिनिकमलमात्रै होईन हाईब्रिड बिउ पनि ल्याउन बन्द गर्नुपर्छ, हामी संग छैन भने विदेशीको भरमा किन रासायिनिकमल र हाईब्रिड बिउ प्रयोग गर्ने? सरकारले विदेशबाट मल, विउ र तरकारी केहीपनि आयात नगर्ने हो भने स्वदेशी उत्पादनले मुल्य पाउँछ ।” कार्कीले भने ।

    हरेक निर्वाचनमा दलहरुले निकाल्ने घोषणापत्रमा कृषिक्रान्तिका कुरा छुटेको हुदैंन। तर कुनै पनि दलका घोषणापत्रमा स्वदेशमा नै मल उत्पादन गर्ने, कारखाना बनाउने जस्ता योजना ल्याएको पाईदैन । रासायिनिक मलको आयातको विकल्प खोजिएको पाईदैन । भएका जैविकमल उद्योगहरु पनि धमाधम बन्द भैरहेका छन् । कृषिउत्पादन बढाउन र देशलाई वास्तवमै कृषिप्रधान देश बनाउन सरकारले स्वदेशमा नै विउ, विजन, मल जस्ता आवश्यक सामाग्री उत्पादनगर्ने तर्फ ध्यानदिनुपर्ने किसान बताउँछन् ।