दुलेगौँडा : खैरेनी माध्यमिक विद्यालय खैरेनीटारमा दुई लाख २२ हजार २२२ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका खिमबहादुर राना र विष्णुमाया राना दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । राना दम्पत्तीले दिवंगत छोरी उषा राना (शोभा)को स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् ।
बुधबार राना दम्पतीले वडाध्यक्ष एवम विद्यालय व्यवस्थापन समितका अध्यक्ष वुद्धिबहादुर थापालाई अक्षयकोष स्थापनार्थ नगद हस्तानतरण गरे ।
अक्षयकोषबाट प्राप्त रकमले विपन्न विद्यार्थीलाई छात्रावृत्ति दिईने रानाले बताए । ‘अक्षयकोषमा जम्मा गरेको रकमबाट आएको ब्याजले जेहेन्दार, पढाईमा अब्बल भएका गरिब विधार्थीलाई छात्रावृत्ति दिने हो । गरिब भएर पढाई छोड्न नपरोस्’, उनले भने । गरिब परिवार भएपनि पढाईमा अब्बल भएका विधार्थीले पढ्न पाउनुपर्ने उनको भनाई छ ।
वडाध्यक्ष एव विद्यालय व्यवस्थापन समितका अध्यक्ष थापाले गरिब विधार्थीका लागि अक्षयकोषमार्फत छात्रावृत्ति वितरण गर्दै पढाईलाई निरन्तरता दिन सघाईरहेको बताए । उनका अनुसार करिब ३५ विद्यार्थीलाई अक्षयकोषको प्राप्त व्याजले छात्रावृत्ति वितरण गरिएको छ ।
अक्षयकोष दाता राना २०४० सालमा खैरेनीटार गाविसको प्रधानपञ्च हुन् । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल उनी अरनिको आवसिय बोर्डिङ स्कुल खैरेनीटारका संस्थापक समेत रहेका छन् । हाल उनी परिवारसँग काठमाडौँमा बस्दै आईरहेका छन् ।