


दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँगाउँमा शनिबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गरे ।
जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गाउँको समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो । जनताको समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पु¥याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको वरिष्ठ नेता पौडेलले उल्लेख गरे।

अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताए । “अहिले गठबन्धनको सरकार भएपनि निर्णय गर्ने ठाउँमा म छैन, सिफारिस गर्ने ठाउँमा मात्रै छु, तनहुँको विकासका लागि बजेट ल्याउने कुरामा दौडधुप गरिरहेको छु,” उनले भने । विगतमा आफूहरुको सरकार नभएकाले सोचेजति विकास गर्न नसकिएको पौडेलले बताए।