दुलेगाैडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनमा जोखिम रहेकाले एक्लै जित्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडामा आइतबार क्षेत्र नम्बर २ ले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले काङ्ग्रेस आजको स्थितिमा एक्लै निर्वाचन जित्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताए ।
आफू गठबन्धनको विरोधी नभएपनि गठबन्धनमा जोखिम रहेको उनको भनाई थियो । आफूले चाहेजति सिट नपाए गठबन्धनका दल गठबन्धनबाट बाहिरिने खतरा रहेको भन्दै उनले भने, “गठबन्धनमा भागबण्डा हुन्छ, आफूले चाहेजति सिट पाएन भने गठबन्धनका दलहरु गठबन्धनबाट बाहिरिने खतरा हुन्छ ।”
पौडेलले तनहुँ क्षेत्र नम्बर २ मा काङ्ग्रेस कमजोर नभएको उल्लेख गर्दै कमी कमजोरी भएका कारण चुनाव हारिरहेको बताए ।