दमाैली । तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरह स्थित चुँदीखोलामा डुबेर मृत्यु भएका दुई युवाको परिवारलाई न्यू प्रगतिशिल अनलाइन रोधीघर परिवार (म्यासेन्जर गु्रप) ले आर्थिक सहयोग गरेको छ । गत जेठ २९ गते चुँदीखोलामा डुबेर मृत्यु भएका धनराज गुरुङ र सागर गुरुङको परिवारलाई अनलाइन रोधीघर परिवारले आर्थिक सहयोग गरेको हो ।
धनराजको परिवारलाई रु ७० हजार र सागरको परिवारलाई रु १३ हजार आर्थिक सहयोग गरिएको अनलाइन रोधीघरका कोषाध्यक्ष रिजन मगरले जानकारी दिए । उनले पीडितको घरमै पुगेर परिवारलाई उक्त रकम हस्तान्तरण गरेका थिए । दुःखका बेला केही सहयोग गरौं भन्ने भावना सहित अनलाइन रोधीघर परिवारका सदस्यबाट रकम सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरिएको उनले जानकारी दिए ।
धनराजको घरमा आमा, गर्भवती श्रीमती र छ वर्षका छोरा छन् । उक्त परिवारका जेठो छोरा बाबु गुरुङको मलेसियामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनका बुबा कृष्णबहादुर गुरुङको पनि छोराको मृत्यु पश्चात् चिन्ताले मृत्यु भएको थियो । सागरका आमा भने दुई वर्षदेखि प्यारालाइसिस पीडित छन् ।
न्यू प्रगतिशिल अनलाइन रोधीघरका सदस्यहरुले रमाउने मात्र नभई रकम सङ्कलन गरी पीडितलाई सहयोग गर्दै आएको छ । अनलाइन रोधीघरले यसअघि पनि मिर्गौला पीडितलाई सहयोग गरिसकेको छ ।