भानु । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको दुई सय नवौं भानु जयन्तीको अवसरमा मङ्गलबार आयोजित राष्ट्रिय स्तरको कविता प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कविता प्रतियोगितामा दुई सय ४० अङ्क प्राप्त गरी परियार प्रथम भएका हुन् । प्रतियोगितामा उनले सूर्यमुखी फूल शीर्षकमा कविता वाचन गरेका थिए ।
प्रतियोगितामा पर्वतका तारानाथ पराजुली दुई सय ३८ अङ्क प्राप्त गरी द्वितीय भएका छन्। उनले नजन्माइएका छोरीहरु शीर्षकमा कविता वाचन गरेका थिए ।
पर्वतकै लक्ष्मीदेव गौडेल दुई सय ३६ अङ्क प्राप्त गरी तृतीय भएका छन् । उनले प्रिय कविको सम्झनामा शीर्षकमा कविता वाचन गरेका थिए ।
अछामका मिनप्रसाद पाण्डे दुई सय ३५ अङ्क सहित सान्त्वना भएका छन् । उनले मुजारे गुराँस शीर्षकमा कविता वाचन गरेका थिए । मोरङका केशव भण्डारी कञ्चन दुई सय ३१ अङ्क प्राप्त गरी सान्त्वना भएका छन् । उनले देश छाड्नुअघि शीर्षकमा कविता वाचन गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १५ कविहरुको सहभागिता रहेको थियो । ३५ जिल्लाबाट एक सय १२ कविता प्राप्त भएकामा प्रतियोगिताका लागि १५ कविता छनौट गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु दश हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार प्रदान गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक डा. शङ्कर रानाभाटले जानकारी दिए। पुरस्कार वितरण भोलि भानु जयन्तीको अवसरमा गरिनेछ ।
प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल संयोजक रहनुभएको थियो । सदस्यहरुमा प्राज्ञ धीरेन्द्र प्रेमर्षी र डा. विन्दु शर्मा रहेका थिए ।
यसैगरी भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुस्मिता तिमिल्सिना प्रथम, मधुकला आचार्य द्वितीय, सञ्जय श्रेष्ठ तृतीय, विदुर खनाल र केशवप्रकृति तिमिल्सिना सान्त्वना भएका छन् ।
विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा अभिप्सा सापकोटा प्रथम, आयुष आचार्य द्वितीय, आर्शीवाद कट्टेल तृतीय, विनाभक्त नेपाली र विनिषा श्रेष्ठ सान्त्वना भएका छन् ।
तस्वीर : सन्देश आचार्य