५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्टस्: फिस्टेल ड्रिम पार्क (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्टस्: फिस्टेल ड्रिम पार्क (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७९, आईतवार

     पोखरा । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै  पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ  ।  

    फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन्  । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम भन्छन् ।

    इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए ।

    पार्ककाे प्रवेश शुल्क २ सय रुपैयाँ रहेकाे छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटकाे व्यवस्था रहेकाे छ । यस्तै, वाटर पार्ककाे प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० ररुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलकाे १५० देखि ३००  रुपैयाँसम्म लाग्नेछ ।

    पानीमा खेलीने वा भनौँ गर्मीमा खेलिने खेलहरू मात्र नभइ पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरि व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको ल्याइएको गौतम बताउँछन् । 

    ‘कतिपय यस्ता पार्कहरू ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ । त्यस्तो नहोस् भनेर हामीले बच्चाहरूका लागि छुट्टै इन्डोर गेमहरू राखेका हौँ,’ गौतम थप्छन् ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामाग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ ।’

    ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान  निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ । पार्कमा हिरा केसी, नारायण खरेल, कमल बस्नेत, भरत गौतम, कदम केसी, सुशिल खरेल, नारायण पौडेल, जितेन्द्र केसी, अर्जुन खरेल, मदन कुमार श्रेष्ठ, भिम केसी लगायत १३ जनाको लगानी रहेको छ ।