नितिश कुमार र लालु यादवको पार्टी मिलेर बिहारमा सरकार बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    नितिश कुमार र लालु यादवको पार्टी मिलेर बिहारमा सरकार बनाउने

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७९, मंगलवार

    एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) सँग सत्ता गठबन्धन तोडेका जनता दल (युनाइटेड) का नेता नितिश कुमारले बिहारमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी पार्टी राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका छन्।

    उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका भारतीय सञ्चारमाध्यम स्क्रोल इनले जनाएको छ। स्क्रोल इनका अनुसार यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ।

    राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन्। लालु गाईवस्तुको चारोमा भ्रष्टाचार गरेको आरोपमा सन् २०२२ फेब्रुअरीदेखि पाँच वर्षको जेल सजाय भोगिरहेका छन्। यसअघि पनि उनले सोही काण्डमा तीन वर्षको जेल सजाय भोगिसकेका छन्। 

    भ्रष्टाचार आरोप लागेपछि उनले श्रीमती रावडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए। पछिल्लो समय राष्ट्रिय जनता दलको नेतृत्व उनीहरूका छोरा तेजस्वीले सम्हाल्दै आएका छन्। 

    गत बिहार विधान सभामा तेजस्वीकै नेतृत्वमा राष्ट्रिय जनता दलले चुनाव लडेको थियो।

    नितिश कुमारले भाजपासँगको सत्ता साझेदारी त्यागेसँगै बिहारको मुख्यमन्त्री पदबाट मंगलबार राजीनामा दिएका थिए।

    उनले आजै जनता दलका नेता तथा विधायकहरूसँगको बैठकपछि भाजपासँगको साझेदारी अन्त्य गरेका हुन्। बैठकमा उनले भाजपाले जनता दल (युनाइटेड) लाई कमजोर बनाएको बताएका थिए।

    नितिश कुमारले भनेका थिए, ‘भाजपाले सधैं हामीलाई अपमान गर्‍यो र जनता दललाई मास्ने षड्यन्त्र रच्यो। सन् २०२० देखि नै वर्तमान गठबन्धनले हामीलाई कमजोर बनाउने कोसिस गरिरहेको छ।’

    अब पनि सतर्क नभए पार्टीका लागि राम्रो नहुने उनले बताएका थिए।

    बैठकमा सबैले नितिश कुमारको फैसलालाई समर्थन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    बैठकपछि जनता दल (युनाइटेड) का राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहाले ट्विट गर्दै भनेका छन्, ‘नयाँ रूपमा नयाँ गठबन्धनको नेतृत्वका लागि नितिश कुमारलाई बधाई।’

    पार्टी बैठकपछि नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय मागेका थिए।

    आजै पूर्व मुख्यमन्त्री रावडीदेवीको निवासमा राष्ट्रिय जनता दल नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो। उक्त बैठकले तेजस्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको हो।