बुबाको मुख हेर्ने दिनको शुभकामना मेरी आमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    बुबाको मुख हेर्ने दिनको शुभकामना मेरी आमा

    भगवान त्रिपाठी

    १० भाद्र २०७९, शनिबार

    आफ्नो उमेरको उन्नाईसौं खुट्किला टेक्दै गर्दा, आज भन्दा तीस वर्ष अगाडी मेरी आमाले दोस्रो अंशको रुपमा मलाई जन्म दिई यो संसारलाई फेरि भविष्यको एउटा वुवा चिनाइन् । हो, उनले पहिलो सन्तानका रुपमा मेरी दिदिलाई जन्म दिइन्, साथसाथै चिनाइन् भविष्यकी अर्की आमालाई । श्रृष्टि कसरी चल्छ, यसै गरी होइन र ?

    उनी खुसि थिइन्, आमा बनेको हर्ष थियो, परिवारभरि नव-आगन्तुकका बालकृडाका बखानहरु थिए, तर दोस्रो सन्तान छोरा पाएर खुशीको अनुभूति गर्न नपाउदै श्रीमानको अस्वस्थ शरिरलाई बोकि उपचारको दौडधुपको थप जिम्मेवारी ग्रहण गरीन् मेरी आमाले ।

    दूधे बालक काखमा, परिवारको जिम्मेवारी काँधमा र संयुक्त परिवारबाट छुट्टिएपछि संसार चिन्दै गरेका अबोध छोराछोरी र संसार छोड्न तत्पर आफ्नो परानी साथमा लिई भगिरथभन्दा कडा परिश्रम र कर्मलाई निरन्तरता दिदैं गर्दा विसौं बसन्तमा प्रबेश गर्दै गरेकी उनले काखमा ६ महिने दुधे बालक म र मेरी दिदिलाई छोडी शतकौंसंगै हुने बाचा गरेका उनका श्रीमानले उनलाई एक्लो बनाई गए पश्चात मेरा लागि आमा संगै वुवाको थप जिम्मेवारी लिदै संघर्षका दिनहरुमा कति पनि उदास नभएकी उनी आफ्नो क्षमतालाई आफै चुनौती दिन खुब सिपालु थिइन् ।

    उनी आफैं सानी नानी, भर्खर उमेरको विस वर्ष टेक्दै थिइन्। आफ्नै रमाउने खेल्ने उमेरमा

    एक्लैले,

    हो सही पढ्नु भयो, उनी एक्लैले छोराछोरीलाई हुर्काइन्, किशोरावस्थामै दुई सन्तान पाएर गलेको शरीरबोकि कल्पना सम्म गर्न नसकिने दुखकष्ट, झेल्दै दुबै सन्तानलाई स्नातकोत्तर सम्म उत्तिर्ण गराउन कति जंगलका रुखहरु बोकेर बजारका चमेना भट्टीसम्म पुर्याइन्, कति भैसीको दूध वस्ति वस्तिका केटाकेटीहरुको गिलाससम्म पुर्याइन् त कति खसि बोकाले गाँउलेका दशैं तिहार मनाईन कुनै लेखाजोखा नै छैन ।

    कति छाक खाना खाइन्, कति भोकै बसिन्, कति थरी लुगा पाइन्, कति थरी गहना लाइन् सम्झना नै छैन । न त लुगा किनेर फेर्दै बस्न उनलाई फुर्सद थियो न त पैसाको बिटो थियो। अँ साँच्ची, कुनै कुनै वर्ष मासु खान वर्षमा दशै नै कुर्नु पर्ने उनीले आरामले श्वास लिन पनि रातमा विस्तारा कुर्नु पर्थ्यौ । यो सबै किन थाहा छ? किनकि उनीलाई आफ्ना सन्तानहरुलाई शिक्षित र योग्य बनाउनु थियो । आफूले नदेखेका सपनाहरु देखाउनु थियो र आफूले नपुगेको ठाउँ पुर्याउनु थियो । आमा हुन नि त ।

    स्कुलको आँगन नटेके पनि उनलाई समयले राम्रै सिकाइ तथा भोगाइ दिइसकेको थियो । उनी शिक्षाको ताकतमा पूर्ण विश्वस्त भैसकेकी थिइन् । उनि भन्थिन् शिक्षित छ त गरिखान सक्छे छोरीले, शिक्षित छ त गरिखान्छ र गरिखान दिन्छ छोराले ।

    उनका छोराछोरीको स्कुलको शुल्क बुझाउने समय कहिले ढिलो भएपनि शुल्क बुझाउने नोट भने हजारभन्दा सानो कहिल्यै भएन । छोराछोरी पढाउँदा लेखाउँदा ऋण लाग्यो, उनैले बाख्रा बेचेर तिरिन् । घरको छानो भत्क्यो, उनैले गहना बेचेर पानी नचुहिने बनाइन्। श्रम बेचेर लुगा सिलाइन् र खान पुगेर बचेको अन्न बेचेर सन्तानलाई न्यानो सिरक ओढाइन्।

    उनले सबैथोक बेच्न सिकिन्, सिपालु भइन्, केही बेचिनन् त केवल आफू, आफ्नो हिम्मत, आफ्नो हौसला र आफ्नो अस्तित्व । आज म ती अट्चालिस वसन्त पार गर्दै उन्पचासौं वसन्तमा उत्तिकै हर्ष र जोश जाँगरका साथ प्रवेश गरिरहेकी मेरी आमालाई सम्झदैछु । उनको तपस्या अझै पनि छोराछोरीलाई सम्झेर, खेतबारीमा पसिना बगाउँदै बाख्रा पाल्नैमा पाइन्छ । किन थाहा छ? हामी छोराछोरी उड्ने भएपछि चराको बच्चाले गुड छाडे झैँ कमाउने भएपछि आमाको काख छाडेर उडिसकेका छौ त्यसैले । एकछिन बसेर आमाका कुरा सुनेर उनका दिन बिताउने माध्यम हामी हुन सकेनौं र पो उनले आफ्नो सारथी आफ्नो कामलाई बनाइन् । आफ्ना बस्तुभाउसँगै हाँसिन् र हाम्रो खुसिमै खुसी भइन्।

    आमाले छोरीको रुपमा भविष्यका आमा जन्माइन् भने छोराको रुपमा भविष्यका बाबा जन्माइन्। आमाले श्रृष्टि गरिन्, आमाले पालन गरिन्, आमाले सम्मान गरिन्, आमाले स्याहार गरिन्, आमाले माया गरिन् र सधैं गरिरहिन्। यो मानव रुपी प्राकृतिक चक्र जति चल्छ, त्यति नै आमाबाट आमा बन्ने चक्र पनि चलिरहन्छ ।

    आमा समयको अनेक कालखण्डमा अनेक रुपमा केवल संघर्ष गर्दै गइन् र माया बाड्दै गइन् । शरीर एक भएपनि समयक्रम सँगै भूमिका अनेक, भोगाइ अनेक पात्र अनेक भइन्। निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन् । आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन् । त्यसैले म अचेल बुझ्दै छु आमा कि ‘आमा’ मात्र नभएर मेरा लागि ″बुवा” पनि हुन, साथी पनि हुन सारा ब्रमाण्ड नै हुन ।

    धन्यवाद आमा,

    मेरा हरेक प्रश्नहरुको, मेरा हरेक उत्तरहरुको, मेरा हरेक आवश्यकता तथा चाहनाहरुको, मेरा हरेक सुखदुखका पलहरुको र तपाईका हरेक खुशिको सहयात्री बन्न पाएकोमा ‌।

    त्यसैलेकुशे औँसी (बुबाको मुख हेर्ने दिन) को शुभकामना आमा ।