तीज मनाउने शैलीले पार्वतीको विद्रोहको गति छुन सक्दैन, ऋषिपञ्चमी स्नानले वर्षभरीको फोहोर धुन सक्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीज मनाउने शैलीले पार्वतीको विद्रोहको गति छुन सक्दैन, ऋषिपञ्चमी स्नानले वर्षभरीको फोहोर धुन सक्दैन

    अस्मिता खनाल

    ५ असाेज, २०८१

    तीज परम्परादेखि मनाईदैं आएको महिला विशेष पर्व हो । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजको पौराणिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक पक्षहरु छन् । महिलाको पर्व भनिएपनि तीज मनाउने व्याप्त शैलीले महिलालाई कमजोर सावित गरिरहेको छ। तिज मनाउने अहिलेको शैलीले पार्वतीको विद्रोहको गति पक्डन सकेको छैन । रजश्वलालाई पाप भनेर व्याख्या गर्ने ऋषिपञ्चमी पुजा र ऋषिपञ्चमी स्नानको विधिले अन्धविश्वासको प्रदुषण पखाल्न सकेको छैन।

    पौराणिक मान्यता बमोजिम परापुर्वकालमा पार्वतीले आफूलाई मन परेको व्यक्ति स्वामी पाऊँ भन्ने माग राखेर खोलाको तिरमा एकान्त ब्रत बसेकी थिइन् । विष्णुसंग बिहे गरिदिने बुवाआमाको निर्णय विपरित आफूले रोजेको महादेवलाई प्राप्त गर्न पार्वतीले घरबाट विद्रोह गरेकी थिइन् । यसको मतवल एउटी महिलाले आफ्नो स्वतन्त्र छनोटको माग पुरा गर्न अनशन बसेकी थिईन्।

    पौराणिक कालमा पार्वतीले पानी समेत नखाई गरेको “निराहार व्रत” भनेको आधुनिक युगमा “आमरण अनशन” हो । आमरण अनशनले बन्द, हड्ताल, ढुङ्गामुढा, आगजनीले जस्तो समाजमा बहुसंख्यक मानिसलाई दुःख दिदैंन बरु केबल आफैलाई दुःख दिएर माग पुरा गराउन सम्बन्धित पक्षलाई नैतिक दबाब दिन्छ । यो आन्दोलनको उत्कृष्ट शैली हो। ऊ बेला पनि आफ्नो लक्ष्य प्राप्त गर्न आमरण अनशनको प्रक्रिया अपनाउने चेतना उच्च चेतना हो । जसले छोरीहरुलाई सकारात्मक विद्रोह गर्न सिकाएको छ । तर तीज मनाउने अहिलेको शैलीले पार्वतीको विद्रोहको शिक्षा लाई भन्दा बढि अन्धभक्तीलाई पछ्याईरहेको छ ।

    अझैपनि समाजमा अन्र्तजातीय प्रेम विवाहले सहज स्वीकृति पाउन सकेको छैन । शिव पार्वतीकै स्मरण गरेर तीज मान्ने हो भने समाजले निस्वार्थ प्रेमलाई स्वीकार गर्नुपर्छ । विवाह करले होईन रहरले गर्न दिईनुपर्छ । श्रीमान् श्रीमतीको समान अधिकार र समान कर्तव्यको सन्देश दिदैं सहअस्तित्वलाई सम्मानपुर्वक स्वीकार गर्ने पर्व बन्नुपर्दछ ।

    तीजको महत्वपुर्ण पक्ष गीत हो । मनका भावनालाई स्वर र सगीतवद्व गरेर उजागर गर्नु तीजका विशेषता हो ।

    एउटा हात पुरुष, अर्को हात नारी हो

    केही छैन फरक, बराबरी हो ।।

    अघिल्लो पुस्ताले राजनितिक परिवर्तन, लैङ्कि समानता, सामाजिक चेतना, शैक्षिक अधिकारका माग गर्ने गीतहरु गाए । अहिलेपनि गाउँ स्तरमा हुने तीज गीत प्रतियागिताहरुमा सर्वसाधारण महिलाहरु सकारात्मक सन्देश प्रवाह गर्न गीत गाउँछन् । तर त्यस्ता सन्देश मुलक गीत स्थानीय प्रतियागितामा नै सीमीत छन् । बजारमा भने चलेका राष्ट्रिय कलाकारले निकालेका अधिकांश गीतले सस्तो मनोरञ्जन बाहेक अरु केही दिन सकेका छैनन् । गाउँघरमा गुञ्जने पुराना गीतहरुले अधिकारको माग गर्दथे, विकृति विसंगती माथि औंला उठाउँथे । कमसेकम लाखौं लगानी गरेर ल्याईएका तीज गीतले चेतनामा विर्को लगाउने काम नगरोस् भन्ने तर्फ कलाकारहरु सचेत हुनुपर्दछ । तीज गीतले मनोरञ्जन संगै सामाजिक रुपान्तरणको बाटो देखाउन सक्नुपर्छ। समाज बदल्न उत्प्रेरित गर्ने त्यस्ता गीत औंलामा गन्न सकिने मात्रै छन् । गीत सबैलाई मनपर्ने कुरा हो । यसैले पनि कलाकारहरुले राम्रा सन्देश दिने गीत गाउँदा समाज छिटो चेतनशील बन्दछ ।

    दर खाने तरिकामा आएको नकारात्मक बदलाबले असमान आर्थिक क्षमता भएका महिलाहरु विचको दुरी वढाउँदै लगेको छ । महिनौं अगाडी देखि विना तात्पर्य दर खादैं हिड्ने प्रवृतिलाई नारी स्वतन्त्रताको नाम दिनेहरु पनि छन् । पुरुषले वर्षभरी खान हुने महिलाले हप्तादिन खादाँ किन नहुने भन्नुभन्दा पुरुषलाई पनि मितव्ययी र जिम्मेवार बनाउन प्रेरित गर्ने रोजाई आफ्नै हो ।

    तीज लगत्तै भाद्र शुक्ल पञ्चमीको दिन मनाईने ऋषि पञ्चमी पर्वले महिलाको अस्तित्वको अवहेलना गरेको छ । अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नी र वशिष्ठ गरी सात ऋषिहरुको पूजा गरिने पर्वमा सुनाईने कथाले महिलाहरुको मासिक प्राकृतिक प्रक्रिया रजश्वलालाई पाप भनेको छ । महिनावारी हुनु भनेको नछुने हुनु हो भन्ने मान्यता लाई उजागर गरिएकै कारण यो पर्वको औचित्य माथि प्रश्न उठ्ने गरेका छन् । महिलालाई महिनावारीको अवधिमा चण्डाल्नी, ब्रह्मघातीनी हुनेजस्ता निच चरित्रबाट अपव्याख्या गरेको ऋषिपञ्चमीको कथाले महिनावारीको बेला महिला अछुत हुने मान्यतालाई कायम राख्न वर्षेनी सघाईरहको छ । महिनावारी हुदाँ कसैलाई छोए पाप हुन्छ भन्ठानेर पाप पखाल्न ऋषि पञ्चमी नुहाउने विधि झनै हास्याँस्पद र असान्दर्भिक छ । १२ महिनाको रजस्वलामा अन्जानवस छोइएको पापबाट मूक्त हुन भन्दै ३६५ वटा दतिवनका डाँठ टोक्नुपर्ने, माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्ने विधि छ । जुन अव्यवहारिक र अवैज्ञानिक छ ।

    एकैदिन ३६५ वटा दतिवन टोकेर फाल्नुभन्दा बरु दाँतको स्वास्थ्यका लागि हितकर दतिवनको प्रर्वद्वन गर्ने दिनका रुपमा ऋषि पञ्चमी मनाउँदा लोककल्याण हुने थियो कि ? अहिले त पञ्चमीका कथाले भएभरका दतिवन खोजेर फेरि नउम्रने गरी फाल्न सिकाएको छ । दतिवन हाम्रो पुरानो मञ्जन हो, माटो पुरानो साबुन, पिना पुरानो स्याम्पु । यस्ता थुप्रै हाम्रा परम्परागत प्राकृतिक स्रोत साधनहरु छन् जसलाई हामीले आधुनिक तवरले प्रयोगमा ल्याउन सकिरहेका छैनौं । कम्तीमा दिनमा २ पटक दाँत माझ्नुपर्छ भन्ने बुझेका हामी वर्षमा जम्मा एक दिन ३६५ वटा दतिवनको डन्ठी चपाएर पौराणिक मान्यताको सम्मान गर्न कदापी सक्दैनौ । परम्परागत मुल्य मान्यताको सम्मान यदी हामी गछौं भने खोई त हामी महिलाहरुले दतिवनबाट मञ्जन बनाई बेच्न सकेको ?

    हाम्रा पर्वहरुलाई समायानुकुल बनाउन हामी आफै अग्रसर हुनुपर्छ । पञ्चमी कथा न सुनाउनेलाई सत्य लाग्छ, न सुन्नेलाई । तर फरि यही कथा हामी किन सुनिरहन्छौ ? ऋषि पञ्चमीको अन्धविश्वासी विधि लाई यस पर्वलाई रजश्वलाको बारेमा सचेतना प्रदान गर्ने, व्यक्तिगत सरसफाईको महत्व दर्शाउने विधिका रुपमा बदल्न पुरोहितहरु तयार हुनु पर्दछ ।

    महिनावारी भनेको महिलाको शरिरमा हुने एक शारीरिक परिवर्तन हो । एउटी वयस्क महिला गर्भवती हुन तयार हुने सङ्केत नै महिनावारी हो । एक अनिवार्य शारीरिक प्रक्रिया महिनावारीलाई पाप भनेर परिभाषित गरिएका शास्त्रहरु अन्धविश्वासको उदाहरण हुन् । जान्ने बुझ्ने ठानिने पढे लेखेका मान्छे रुढीग्रस्त सोचबाट मुक्त हुन जरुरी छ । महिनावारीलाई पाप होईन मानवधर्म ठानेर मनाउनु आजको आवश्यकता हो । आज पार्वती हुन्थिन् भने यसरी तीज मनाउने थिइनन् होला ।