म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको एक सय दिनको अवधिमा आठ वटा विभिन्न कानून निर्माण गरेको छ । गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा गाउँपालिकाले साेमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त अवधिमा आठ वटा कानून निर्माण भएको जानकारी दिएको हो ।
यस अवधिमा दुई वटा नयाँ ऐन, एक संशोधन र पाँच वटा कार्यविधि निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
एक सय दिनको अवधिमा सम्पन्न भएको बाह्रौ गाउँसभाले ६२ वटा निर्णय गरेको उनले बताए। त्यस्तै सात वटा कार्यपालिका बैठक मार्फत् एक सय ३२ वटा निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले यस अवधिमा न्यायिक समिति, लेखा समिति, सुशासन समिति, विषयगत ६ वटा सहित नौ वटा विषयगत समिति गठन भएको जनाएको छ । गाउँपालिकाले यही अवधिमा सात जना करारका कर्मचारी नियुक्त गरेको छ ।
यस्तै गाउँपालिकाको सभाहल निर्माणका लागि ढिलाइ भएकामा निर्माण कम्पनीलाई छिटो काम गर्नका लागि पत्राचार गरिएको जनाइएको छ । म्याग्दे–१ मा चिस्यान केन्द्र निर्माणका लागि डिपिआर, दश वटा घाटको आइइ, सबै वडाको फोहरमैला व्यवस्थापनका लागि पनि प्रक्रिया सुरु गरिएको श्रेष्ठले जानकारी दिए।
यही अवधिमा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन चार वटा विद्यालयलाई बस खरिदमा अनुदान दिने प्रक्रिया अगाडी बढाइएको छ । विद्यालयलाई बस खरिदका लागि ४० प्रतिशत अनुदान दिइने श्रेष्ठले बताए।
अध्यक्षसँग सुत्केरी कार्यक्रम मार्फत् स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई जनही पाँच हजार, पशुपालक कृषकलाई प्रोत्साहन गर्न प्रति लिटर रु दशका दरले अनुदान, हल गोरु पाल्नेलाई रु दश हजार अनुदान दिने व्यवस्था मिलाउन लागिएको छ ।