दमौली । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं संविधान सभा सदस्य टुकराज सिग्देलले यस पटकको कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
सोमबार दमौलीमा भएको एमाले तनहुँको जिल्ला कमिटिको बैठकमा सिग्देलले आफू यस पटक कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । २०५६ को आम निर्वाचन र २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा सिग्देल तनहुँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । त्यसअघि २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बनेका सिग्देल झिनो मत अन्तरले नेपाली काँग्रेसका अमरराज कैनीसँग पराजित भएका थिए ।
आजको लोकवाणी दैनिकमा प्रकाशित समाचार अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदबार बन्न नेताहरुबीच मारामारको अवस्था भईरहँदा एमालेको तनहुँ जिल्ला इन्चार्ज समेत रहेका सिग्देलले भने अब नयाँ पुस्तालाई अवसर सिर्जना गर्न आफू चुनावी मैदानमा नरहेको प्रष्ट पारेका हुन् । ‘अहिले म ६५ वर्ष पुँगे, राजनीतिमा मेरो नाती पुस्ताको व्यक्तिको प्रवेश भईसक्यो’ सिग्देलले प्रश्न गरे ‘अझै पनि मैले नै उम्मेदबारको दावी गरेँ भने युवा पुस्ताले कहिले अवसर पाउने ?’
आफु उम्मेदवार नभएपनि पार्टीलाई जिताउन चुनाबी कमान्ड सम्हाल्ने सिग्देलले बताए । विगतको गौरवपूर्ण इतिहासलाई यसपटक पनि निरन्तरता दिनु पर्ने भन्दै सिग्देलले पार्टीले जसलाई टिकट दिएपनि चुनाव जिताउन सबै कार्यकर्ता एक ढिक्का हुनु पर्ने बताए ।