आँबुखैरेनीमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । डेङ्गु नियन्त्रणका लागि गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित आँबुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको हो ।

    नेपालका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

    डेङ्गुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेङ्गु नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताए । “डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ”, उपाध्यायले भने, “यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ ।”

    यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ ।

    आँबुखैरेनी गाउँपालिकामा हालसम्म डेङ्गुबाट कोही पनि सङ्क्रमित नभए पनि बच्नका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । “गाउँपालिकाभित्र डेङ्गु सङ्क्रमित भएको आधिकारिक तथ्याङ्क छैन, जोखिम बढ्दै गएकाले सचेतना अपनाउन आवश्यक छ”, उनले भने ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।