व्यास सहकारीको साधारणसभा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास सहकारीको साधारणसभा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । दमौलीकौ नमूना सहकारीको रुपमा विकास भइरहेको व्यास बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

    साधारणसभाको उदघाटन गर्दै राष्ट्रिय सहकारी बैङ्कका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले सहकारी संस्थामा सुशासन कायम राख्न चनाखो बन्नुपर्नेमा जोड दिए । उनले एउटा सहकारी संस्था बदनाम हुँदा समग्र सहकारी क्षेत्र बदनाम हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

    “सहकारीमा बदनामी आउन दिनहुँदैन, एउटा सहकारी बदनाम हुँदा सबै सहकारी क्षेत्रप्रति नकारात्मक धारणा फैलिने गरेको छ,” उप्रेतीले भने, “सुशासन भए मात्रै सहकारी फस्टाउन सक्छ ।”

    उप्रेतीले बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यलाई उत्पादनसँग जोड्न सक्नुपर्ने धारणा व्यक्त गरे । सहकारीलाई माध्यम बनाएर उद्यमी बन्न उप्रेतीले आग्रह गरे । “उद्यमी बन्न, व्यावसायिक बन्न, नेतृत्व विकास गर्न सहकारी एउटा महत्वपूर्ण माध्यमको रुपमा विकास भइरहेको छ,” उप्रेतीले भने, “सहकारीमा जोडिएका हरेक सदस्य उत्पादनसँग जोडिनुपर्छ ।”

    साधारणसभाले आर्थिक वर्ष ०७८÷०७९ को आय व्यय, लेखापरीक्षण प्रतिवेदन, साङ्गठिनक प्रतिवेदन पारित गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको अनुमानित आय व्यय, वार्षिक कार्यक्रम छलफलपश्चात् पारित भएको सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

    सहकारी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) द्वारा
    सञ्चालित गुणस्तर सुनिश्चितताको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्रान्ड प्राप्तिका लागि प्रयासरत छ ।

    प्रोवेशन ब्रान्डको लागि प्रायस गर्ने व्यास दमौलीको एक मात्र सहकारी हो । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको उत्कृष्ट वित्तीय सूचकाङ्क र संस्थागत सुशासनको आधारमा मात्र नेफ्स्कुनले सहकारी सस्थाहरुलाई नेपाल गुणस्तर मापदण्ड प्रोवेशन ब्रान्ड प्रदान गर्छ ।

    भाखा नाघेको ऋण पाँच प्रतिशत भन्दा कम, संस्थाको जगेडा कोष कूल पुँजीको पाँच प्रतिशत भन्दा बढि भएको, व्यवस्थापन खर्च कुल आम्दानीको पाँच प्रतिशत भन्दा बढि नगरेको, कुल पुँजीको दश प्रतिशत तरलता अनिवार्य भएको लगायतका ५१ वटा सूचकहरु पालना गरेका सहकारी मात्रै यो ब्रान्डका लागि योग्य ठहरिन्छन् ।

    हालसम्म देशभरका ४० वटा सहकारी संस्थाहरुले मात्र प्रोवेशन ब्रान्ड पाउन सफल भएका छन् । व्यास सहकारीले पनि प्रोवेशन कार्यक्रमका सबै सूचकहरु पालना गर्दै गईरहेको हुँदा चाँडै नै उक्त ब्रान्ड प्राप्त गर्ने प्रक्रियामा रहेको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले बताए ।

    सो अवसरमा उत्कृष्ट बचतकर्ता, कारोवारीलाई सम्मान गरिनुका साथै शेयर सदस्यहरुलाई राहत वितरण गरिएको थियो ।