


दमाैली । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाह विरुद्ध आइतबार तोकिएको पेशीको सुनुवाई स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि पेशी तोकिएकामा पेशी स्थगित भएको हो ।
गोला हान्दा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासमा उक्त पेशी परेकामा न्यायाधीश ढुङ्गाना बिदामा रहेकाले पेशी स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
नायक शाह विरुद्ध नवलपुर अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ । साथै रु २५ हजार जरीवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ ।
नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।