‘स्थानीय सरकार घरमै आएजस्तो भयो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘स्थानीय सरकार घरमै आएजस्तो भयो’

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७९, मंगलवार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाइन्। गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याएकी उनले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताइन् ।

    “गाउँपालिका जान भ्याएको थिइँन, घरमै ल्याएर गाउँपालिकाले दियो,” कामीले भनिन्, “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उहाँले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

    सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाइन् । “सिंहदरवारको अधिकार गाउँमा भन्ने त सुनेका थियौ, आज त आफैले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो,” उनले भनिन् ।

    जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यसहित म्याग्दे गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सय भन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमा नै पु¥याउने प्रयास गरेका छौ,” अधिकारीले भने, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौ ।”

    म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए ।

    घरदैलोमा नै गएर सेवा प्रदान गर्दा जनतामा खुसी छाएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

    घुम्ती शिविरमार्फत् कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरण लगायतका सेवा प्रदान गरिएको छ । विषयगत शाखा अन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखा अन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिड विरुद्धको खोप प्रदान गरिएको छ ।

    कृषि शाखा अन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्ता सम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदान सम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखा अन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।

    पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा, महिला तथा बालबालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखा अन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ ।

    एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नम्बर १ मा, असोज ५ र ६ गते वडा नम्बर २ मा, असोज ७ देखि ९ सम्म वडा नम्बर ३ मा, असोज ११ र १२ गते वडा नम्बर ४ मा, असोज २७ र २८ गते वडा नम्बर ६ मा र असोज ३० र ३१ गते वडा नम्बर ७ मा सञ्चालन हुनेछ ।