काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । ‘अध्यक्षले अझ सुरक्षित क्षेत्र खोज्नुपर्छ भनेर गोरखा २ को निर्णय गरिएको हो’ एक पदाधिकारीले भने ।
पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठे । काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए ।
यो पटक पनि उनी यही क्षेत्रबाट उठ्न चाहन्थे । उनले पटकपटक त्यही बोलेका थिए । तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ भने प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको माओवादी नेताहरु बताउँछन् । (अनलाइन खबर)