बारा । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ मा दुईजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन्। क्षेत्र नम्बर ४ मा सतारूढ गठबन्धन र नेकपा एमाले-जनता समाजवादी पार्टी(जसपा) गठबन्धन दुबैले पूर्वमन्त्रीलाई टिकट दिएका छन्।
निर्वाचनमा दुबै गठबन्धनले पूर्वमन्त्रीलाई नै निर्वाचनमा टिकट दिएकाले सो क्षेत्रमा यसपालि रोचक भिडन्त हुने पक्का भएको छ। उक्त क्षेत्रमा सतारूढ गठबन्धनको तर्फबाट पूर्वश्रममन्त्री किसान श्रेष्ठ उम्मेदवार छन्। त्यस्तै, एमाले-जसपा गठबन्धनबाट पनि पूर्वखेलकुद मन्त्री एकवाल मियाँ उम्मेदवार रहेका छन्।
दुवैजना पूर्व मन्त्रीहरू बारा निवासी नै हुन्। ०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट एकबाल मियाँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। उनी केही दिन पहिलामात्रै एमालेमा प्रवेश गरी उम्मेदवार बनेका हुन्।
पूर्वमन्त्री श्रेष्ठले भने तनहुँ क्षेत्र नम्बर १ बाट ०७४ सालमा निर्वाचित भएका थिए। उनले सो बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए।
श्रेष्ठलाई यसपाली यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)काे साथ पनि रहेकाले उनी मियाँभन्दा बलिया उम्मेदवार देखिन्छन्। किनभने लोसपा नै परित्याग गरेर मियाँ भर्खरै एमालेबाट चुनाव लडदैछन्।
यस क्षेत्रमा पकड राख्ने लोसपाका नेता जितेन्द्र सोनल पनि यसै क्षेत्रको खबाट प्रदेशसभामा उम्मेदवार छन्। उनी ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए। सोनल फेरि पनि यही क्षेत्रबाट उम्मेदवार हुँदा सतारूढ गठबन्धनका श्रेष्ठलाई लोसपाको मत जाने भएकाले उनी बलियामा मानिएका हुन्।