दमाैली । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमालेले मात्र देशको राष्ट्रियता जोगाउन सक्ने बताएका छन् । शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दाउ बाहेक देश र जनताको हित गर्ने काममा लाग्न नसक्ने गुरुङले बताए ।
नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर ५ कमिटीले बिहीबार आयोजना गरेको वडास्तरीय प्रशिक्षणमा बोल्दै गुरुङले देउवाको प्रधानमन्त्रीत्वकालमा देश र जनताले कुनै पनि जनमुखी र राष्ट्रवादका कामको महशुस गर्न नपाएको बताए ।
उनले भने, ‘म पटक पटक सांसद भएको छैन, भएको बेलामा सधै जनताको काम गरेको छु, यस बीचमा अन्य साथीहरु चुनाव लड्नुभयो । त्यसैले सधै एउटै व्यक्तिको आरोपमा सत्यता छैन ।’
गुरुङले थपे, ‘अहिले हाम्रो चुनाव क्षेत्रमा पाहुना उम्मेदवार आउनुभएको छ । उहाँ क्षेत्र नं १ मा उम्मेदवार हुन पाए २ नम्बरमा आउनुहुन्थेन, पाहुना उम्मेदवारले हाम्रो क्षेत्रको विकास गर्न सक्दैन । भोलि अवसर पाए अर्को क्षेत्रमा जान्छन् अतः त्यस्ता व्यक्तिलाई विश्वास गर्न जनताले सक्दैनन् ।’
गुरुङले चुनावको मुखमा आएर युवा क्लव, आमा समुहलाई प्रलोभन देखाएर चुनाव नजित्ने बताउँदै भने, ‘मैले मेरो क्षेत्रमा धेरै विकास गरेको छु । अहिलेको आवश्यकता नै नेकपा (एमाले) को जित र देशको रक्षा हो ।’
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं तनहुँ ईन्चार्ज टुकराज सिग्देलले केपी ओली सरकारको पालामा भएको काम र अहिलेको सरकारको कामलाई तुलना गर्न आग्रह गरे ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले विकास र समृद्धिका लागि नेकपा (एमाले) लाई जिताउन आग्रह गरे ।
वडा कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारी लगायतले सम्बोधन गरेका थिए ।