काठमाडौ । युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा चार खेलहरु समाप्त भइसकेका छन्। चार खेलको समाप्तिमा अधिकांश उपाधि दाबेदार क्लबहरुले नकआउटमा स्थान बनाइसक्दा स्पेनिस दाबेदार बार्सिलोनाका लागि यो साता निकै महत्वपूर्ण हुने छ। झिनो सम्भावना बोकेको बार्सिलोनाको अघिल्लो चरण कमजोर बन्दा युभेन्टसका लागि पनि जित्नैपर्ने दबाब रहेको छ।
मंगलबार राति शीर्ष टिमहरु प्रतिस्पर्धा गर्दैछन्। चेल्सीले साल्वर्गसँग प्रतिस्पर्धा गर्दा उसको नजर नकआउटमा स्थान बनाउन केन्द्रित हुनेछ। प्रतियोगितामा समूह चरणको चार खेल सकिँदा पाँच टिमले नकआउट चरणमा स्थान बनाइसकेका छन्। जसमा अझै नकआउट पुग्ने ११ टोली तय हुन बाँकी छ।
प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाउँदा नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख र रियल म्याड्रिडले पनि नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। प्रतियोगिताबाट सेल्टिक, रेन्जर्स र भिक्टोरिया प्लेजन भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।
यस्तोमा यो साता सर्वाधिक चासोका साथ हेरिएको र ग्रुप अफ डेथका रुपमा रहेको समूह ‘सी’मा बार्सिलोनाका लागि निर्णायक मानिएको छ। बायर्न म्युनिख १२ अंक जोड्दै समूहमा अपराजित रहँदै नकआउटमा पुग्दा इन्टर मिलान पनि तुलनात्मक रुपमा सहज अवस्थामा छ। बुधबार हुने खेलमा भिक्टोरिया प्लेजनलाई पराजित गरेमा इन्टर नकआउटमा पुग्नेछ।
बार्सिलोना भने आफ्नो खेलअगावै बाहिरिनु पर्नेछ। बार्सिलोनाका लागि भने अन्तिम खेलमा बार्यनलाई पराजित गर्नुपर्ने अवस्थामा रहँदा इन्टरको पनि हारको कामना गर्नु पर्नेछ।
टोटेनहमले लिस्बनलाई पराजित गरे अन्तिम १६ मा स्थान पक्का गर्नेछ। स्पर्सको जितसँगै मार्सेले फ्रान्कफर्टलाई पराजित गरे फ्रान्सेली टोलीले पनि अर्को चरणमा स्थान बनाउने छ। त्यस्तै चेल्सीले साल्ज्बर्गलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउने छ।
एसी मिलानले जाग्रेबलाई पराजित गरेको अवस्थामा भने चेल्सीलाई शीर्ष दुईमा बस्न बराबरीले नै पुग्ने छ। साल्जबर्गले अन्तिम १६ मा पुग्न चेल्सीलाई हराएर मिलानको हारको कामना गर्नुपर्ने छ।