भैरहवादेखि मानुङकोटसम्म साइकल यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भैरहवादेखि मानुङकोटसम्म साइकल यात्रा

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७९, शनिबार

    भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले साइकल सिटी (सिद्धार्थनगर) ले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मका लागि आयोजना गरेको चारदिने साइकल यात्राको शुभारम्भ गरेका छन्।  

    शुक्रबार सुरु साइकल यात्रा आन्तरिक पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। 

    भैरहवादेखि तनहुँको ’रम्भा–मानुङकोटको ४ दिने साइकल यात्रा’ प्रारम्भ गरिएको साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए।

    गृहमन्त्री खाँणले हरियो झण्डा फहराई तनहुँसम्मको साइकल यात्रा प्रारम्भ गरेका हुन्। उनले भैरहवाको लुम्बिनी गेटबाट यात्रा प्रारम्भ गरी साइकल यात्रीलाई बिदाइ गरेका हुन्। 

    गृहमन्त्री खाँणले पछिल्लो समय साइकल यात्रा गर्नेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै यसले आन्तरिक पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए। 

    शुक्रबार भैरहवाबाट सुरु यात्रा पाल्पा रामपुर हुँदै तनहुँको मानुङकोट पुग्ने यात्राका संयोजक राजेश खरेलले जानकारी दिए। यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधी पुग्नेछ। 

    दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर,ताहुँ बजार, बिर्कोट, रामपुर हुँदै भिमाद बजार पुग्नेछ। तेस्रो दिन भिमाद बजारदेखि खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म पुग्ने संयोजक खरेलले जानकारी दिए।

    चौथो दिन मानुङकोटदेखि दमौली बजारसम्म साइकलमा पुगिनेछ।  दमौलीबाट भैरहवा भने बसमार्फत फर्किने छन्। यात्रामा १६ साइकल यात्री सहभागी छन्। साइकल सिटीले यसअगाडि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भैरहवादेखि बर्दियासम्मको यात्रा गरिसकेको छ।