काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदैछ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रतियोगिताको लागि सबै तयारी पूरा भएको बताए । यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको हो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई-दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ ।