‘स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    ‘स्वच्छ रुपमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७९, आईतवार

    दमाैली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ रुपमा सम्पन्न गराउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । निर्वाचन कार्यालय तनहुँले आइतबा जिल्लास्थित सञ्चारकर्मीका लागि आयोजना गरेको निर्वाचन अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहनेमा जोड दिइएको छ ।

    मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले सञ्चारमाध्यमले संवेदनशील भएर निर्वाचन स्वच्छ रुपमा सम्पन्न गराउन भूमिका खेल्नुपर्ने बताए। “सञ्चारमाध्यमले आफ्नो उत्तरदायित्व भुल्नहुँदैन, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चारमाध्यमले सकारात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्छ,” केसीले भने।

    निर्वाचन प्रजातन्त्रको अभ्यास भएकाले यसलाई सकारात्मक ढङ्गबाट सम्पन्न गराउन निर्वाचन आयोगले सबैसँग अपेक्षा गरेको उनकाे भनाई थियो । तनहुँमा आचारसंहिता पालनाका विषयमा सबै सजग रहेको बताउँदै उनले भने “अन्य जिल्लाको तुलनामा तनहुँ आचारसंहिता पालनामा प्रतिबद्ध भएको पाइयो, जिल्लामा अहिलेसम्म तीन जनाको विरुद्धमात्रै आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ, त्यो पनि सामान्य नै छ, त्यसविषयमा हामी अध्ययन गरिरहेका छौ ।”

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनमा सुरक्षाको प्रबन्ध मजबुद बनाइने भएकाले ढुक्कसँग मतदानमा सहभागी हुन सक्ने वातावरण सिर्जनाका लागि सञ्चारमाध्यमको तर्फबाट भूमिका रहनुपर्ने बताए। “सुरक्षाको विश्लेषण गरेर त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी राखिदैन,” अर्यालले भने ।

    मतदानस्थलको सुरक्षा दृष्टिकोणलाई मध्यनजर गरी तीन भागमा विभाजन गरिएको छ । ६ वटा मतदानस्थललाई अति संवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदनशील र ८४ वटा मतदानस्थललाई सामान्यमा रुपमा वर्गीकरण गरिएको प्रजिअ अर्यालले बताए।

    प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले सुरक्षा प्रबन्धका विषयमा परिपक्व भएर जिम्मेवारी निर्वाह गर्ने बताए ।

    जिल्ला निर्वाचन अधिकारी हरि ढकालले निर्वाचनको तयारी सुरु भएको भन्दै कर्मचारी नियुक्तिको प्रक्रिया अगाडी बढेको बताए। मङ्सिर १ गतेभित्र सबै मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी पुगिसक्ने बताउँदै ढकालले भने, “कर्मचारी नियुक्तिपश्चात् तालिम दिएर निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटाउन निर्वाचन सामग्री प्याकिङको काम भइरहेको छ ।”

    सो क्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।